माइत आएकी छोरी माथी आफ्नै बाबुले चलाए गोली

  • सञ्चार लाइभ प्रकाशित : February 9, 2021
  • SancharLive

काठमाडौं । बैतडीमा बाबुले गोली हानी छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेका हुन् ।

शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । “छोरीको हत्या गरेर बुवा फरार रहेका छन्”, उनले भने, “घटना भएको सूचना पाएपछि पुरघाट प्रहरी चौकीबाट टोली खटिएको छ।”

घटनामा भरुवा बन्दुक प्रयोग भएको प्रहरीले जनाएको छ । घटनापश्चात फरार रहेका महराको खोजीकार्य तीब्र पारिएको छ । विवाहित छोरी एक महिनादेखि माइतमै बसीरहेकी बुझिएको छ । महराले छोरीमाथि किन गोली चलाए भन्ने खुल्न सकेको छैन ।