राजधानी घेर्न दुई लाख नागरिक सडकमा : पाँच स्थानबाट जुलुस

  • सञ्चार लाइभ प्रकाशित : February 10, 2021
  • SancharLive

काठमाडौं। प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बुधबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।

नेकपाको केन्द्रीय संघर्ष समितिले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मध्याह्न १२ बजे मूल जुलुस निस्कने छ। संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले काठमाडौं उपत्यकाको पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ ।

सभा तथा जुलुसमा सहभागी हुन दुई लाख मानिस राजधानी भित्रि सकेको उक्त पार्टीले दावी गरेको छ।
संघर्ष समितिका अनुसार पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले गर्ने छन् ।

त्यस्तै त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरुले गर्ने छन् ।

माइतीघरबाट निस्कने जुलुसको नेतृत्व नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल, केन्द्रीय कमिटी सदस्यहरु सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरूलाई दिइएको नेकपाले जनाएको छ ।

केशरमहलबाट निसक्ने जुलुसको नेतृत्व नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले गर्नेछन् ।

जमलबाट निस्कने जुलुसमा लीलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले गर्ने संघर्ष समितिले जनाएको छ । जुलुसपछि सभा हुने बताइएको छ । सभालाई पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरुले संबोधन गर्ने छन् ।

नेकपाले आजको प्रदर्शनमा दुई लाख नागरिकलाई उतार्ने तयारी गरेको छ । नेकपाले यसअघि पनि काठमाडौंमा विरोधका विभिन्न कार्यक्रमहरु गरिसकेको छ । यस्तै देशका ठूला शहरहरु विराटनगर, बुटवल, धनगढीलगायतमा समेत आमसभा गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत कार्य गरेको भन्दै खबरदारी गरिसकेको छ ।