निर्वाचन आयोगलाई अनावश्यक दबाव दिँदै प्रधानमन्त्री ओली !

  • सञ्चार लाइभ प्रकाशित : February 11, 2021
  • SancharLive

आगामी बैशाख १७ र २७ का लागि घोषणा गरिएको मध्यावधि निर्वाचनको तयारी बारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई अनुचित दबाव दिएको दाबी गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको औपचारिक छलफलपछि प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिता सम्बन्धी विवादमा प्रवेश नगर्न निर्देशन दिएको दाबी अर्को पक्षले गरेको छ । अनौपचारिक हवलाको आधारमा गरिएको आशंकालाई राजनीतिक अतिरञ्जना मात्रै हुनसक्ने टिप्पणी पनि गरिएको छ ।

आगामी निर्वाचन केन्द्रीत आयोगको तयारी र सरकारको तयारी बारे जानकारी दिन प्रधानमन्त्री केपी शर्मा ओली आउने सूचना पाएका निर्वाचन आयोगका पदाधिकारीले त्यहि अनुसार तयारी गरेका थिए । प्रधानमन्त्रीसँगको छलफल सुरु भएलगत्तै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले हालसम्म गरेका कामकारबाही र सरकारले गर्नुपर्ने सहयोग बारे ब्रिफिङ गर्नुभयो ।

निर्वाचनको तयारीबारे ब्रिफिङ सकिएलगत्तै दल दर्ताको प्रसङ्ग निस्कँदा प्रमुख आयुक्त थपलियाले नेकपाको आधिकारिकताका लागि माघ २० गते दाहाल–नेपाल समूहले पत्र पेश गरेको जानकारी गराउनुभयो । लगत्तै, प्रधानमन्त्री ओलीले आयोगलाई राजनीतिक दलसम्बन्धी ऐन, नियम र विगतका नजिर बारे ध्यानाकर्षण गराएको छलफलमा सहभागी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभएको थियो ।