डा. गोविन्द केसीद्धारा २० औँ सत्याग्रहको घोषणा

  • सञ्चार लाइभ प्रकाशित : February 11, 2021
  • SancharLive

प्रतिनिधिसभा पुनःस्थापनालगायतका तीनबुँदे माग राख्दै डा. गोविन्द केसीले २० औँ सत्याग्रहको घोषणा गरेका छन ।

बिहीबार काठमाडौंको माइतिघरमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आउँदो फागुन १२ गतेसम्म आफ्ना माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानमाथि निरंकुश प्रहार भएकाले त्यसको विरोध गर्नु आफ्नो मौलिक कर्तव्य भएका कारण सत्याग्रहको घोषणा गरेको डा. केसीले बताए । केसीले अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने पहिलो माग अघि सारेका छन ।

त्यस्तै अवैध रुपमा संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गर्नुपर्ने उनले बताए ।

त्यसैगरि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि यसअघि भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा पचहत्तर प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायतका राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरुको कार्यान्वयन गर्नुपर्ने उनले जानकारी दिए ।

डा केसीले आम नागरिकलाई समेत यो अहिंसात्मक पहलकदमीमा साथ दिन अपिल पनि गरेका छन ।