पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ चैत्र २७ मा रिलिज हुने

  • सञ्चार लाइभ प्रकाशित : February 11, 2021
  • SancharLive

नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’ चैत्र २७ गतेबाट रिलिज हुने पक्का भएको छ । दीपक ओलीको निर्देशनमा तयार भएको चलचित्रले नयाँ बर्षको अबसर पारेर हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ ।

यो चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेलले ‘कृष्ण–लीला’ दर्शकलाई नयाँ बर्षको कोसेली स्वरुप रिलिज गर्न लागेको बताएका छन । आर आर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । चलचित्रमा प्रकाश कार्की र केवल तामाङको लगानी छ ।

यो चलचित्रमा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाँई लगायतका कलाकारले अभिनय गरेका छन् । लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा शिब ढकाल र बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन छ ।
चलचित्रमा समाबेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत भ्यालेन्टाइन डेको अवसर पारेर माघ ३० गते रिलिज गरिने निर्माणपक्षले बताएको छ ।