विरालोको सम्मान

  • सञ्चार लाइभ प्रकाशित : February 12, 2021
  • विनय कसजू

“विरालोको घाँटीमा घण्टी बाँध्ने समस्याले हामीलाई कहिल्यै छोडेन । अब यो कुरामा समय खेर नफालौँ । बरु सकिन्छ भने अरु कुनै उपाय निकालौँ ।” दाह्रीवाल मुसाले जुँगा मुसार्दै भन्यो ।

“यो हामी मुसा जातिको जीवनमरणको समस्या हो । यस्तो महत्वपूर्ण समस्यालाई त्यत्तिकै छाडन कहाँ हुन्छ ?” तन्नेरी मुसाले कुरा काट्यो ।

“हामीभन्दा पहिले पनि यो विषयमा धेरै छलफल भइसकेको छ । बिरालोको घाँटीमा घण्टी बाँध्ने कोसिस गर्दा धेरै मुसा सहिद भइसकेका छन् । कथंकदाचित कोही सफल भए पनि बिरालोले धेरै दिनसम्म घाँटीमा घण्टी बाँधेर बस्दैन । चुँडालेर फालिहाल्छ । यसैले अब बिरालोको घाँटीमा घण्टी बाँध्ने योजना छाडिदिउँ भनेको हो ।” दाह्रीवाल मुसाले आफ्नो कुरा मनाउन खोज्दै भन्यो ।

यसैबीच एउटा दुब्ले मुसाले बिरालोको नक्कल गर्दै जोडले “म्याउँ” गर्यो । सबै मुसाका कान ठाडा भए । बिरालो आयो कि भनेर सबै मुसा चनाखा भए । अनि दुब्ले मुसाले ताली बजाउँदै सबैको ध्यान आफूतिर तान्यो र बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने नयाँ उपाय सुनायो ।

दुब्ले मुसाको कुरा सुनेर धेरैजसो मुसाहरू हाँसे । उसको कुरा धेरैले पत्याएनन् । तर दुईचार मुसाहरूले उसको र्समर्थन गर्दै भने, “दुब्लेले भनेको उपाय एक पल्ट प्रयास गरे के बिग्र्यो र ?”

अनि एक दिन दुब्लेको योजना अनुसार मुसाहरूले ठूलो सभाको आयोजना गरे । सभाको प्रमुख अतिथिको रूपमा ढाडे बिरालोलाई निम्ता गरियो । टोलका अरु बिरालाहरूलाई पनि निम्तो पठाइयो ।