नेपालको विजुली बंगलादेश निर्यातका लागि सहजीकरण गर्न भारत तयार

  • सञ्चार लाइभ प्रकाशित : March 16, 2021
  • SancharLive

नेपालमा उत्पादन भएको विजुली बंगलादेश निर्यातका लागि सहजीकरण गर्न आफू तयार रहेको भारतले जनाएको छ ।

नेपालबाट तेस्रो मुलुकमा विजुली निर्यातका लागि पारवहनको सुविधा दिन भारत तयार रहेको भारतका विदेश सचिव हर्षवर्द्धन श्रींगलाले बताउनुभयो । उहाँले केही दिन अगाडि ‘नेपालले भारत र बंगलादेशमा विजुली निर्यात गर्न सक्ने’ अभिव्यक्ति दिनु भएको थियो ।

नेपालको बिजुली बंगलादेश निर्यातका लागि भारतीय भूमि हुँदै जानुपर्छ । त्यसका लागि भारतले सहजीकरण गर्छ कि गर्दैन भन्नेमा नेपाल र बंगलादेश दुवै शशंकित छन् । ऊर्जाको उच्च माग भएको बंगलादेशले लामो समयदेखि भारतसँग सहजीकरणको लागि आग्रह गरिरहेको छ ।

भारत र बंगलादेश बीचमा हुने हरेक उच्चस्तरीय बैठकमा सो विषयले प्राथमिकता पाउने गरेको छ। पछिल्लो समयमा भारतका उच्च अधिकारीहरुबाट बिजुली निर्यातका लागि पारवहन सुविधा दिने प्रतिवद्धता आएको छ ।

यद्यपि यससम्बन्धी विस्तृत गृहकार्य भने बाँकी नै छ । केही हप्ता अगाडि भारतले ऊर्जाको आयात र निर्यातसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । तर, सो कार्यविधिमा भारतसँग सिमाना जोडिएको कुनै तेस्रो मुलुकले लगानी गरेका परियोजनाको बिजुलीका लागि भने सो सुविधा नदिने उल्लेख छ । सो प्रावधानले चिनियाँ लगानीलाई भने असर गर्ने देखिन्छ ।