नेपाल सुपर लिगमा चितवन र लुम्बिनी बिचको खेल बराबरी

  • सञ्चार लाइभ प्रकाशित : April 29, 2021
  • SancharLive

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीसँग बराबरी खेलेको छ ।

बुधबार भएको खेलमा चितवनले बुटवलसँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो ।

खेलको १५ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलबाट चितवनले अग्रता बनाएको थियो । खेलको १९ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई २–० को अग्रता दिलाए । बुटवलका डिफेन्डरले तर, खेलको ३२ औं मिनेटमा आशिष लामाले गोल गर्दै बुटवललाई २–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २–२ को बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए । यस बराबरीसँगै चितवनले २ खेलमा २ अंक जोडेको छ ।

पहिलो खेलमा चितवनले ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो । बुटवलको यो पहिलो बराबरी हो । बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराएको थियो । बुटवलले २ खेलमा ४ अंक जोडेको छ ।