पाइला पाइलामा गैँडा

  • सञ्चार लाइभ प्रकाशित : April 29, 2021
  • SancharLive

अफ्रिकी मुलुकमा गैँडाको सङ्ख्या दिनप्रतिदिन घट्न थालेपछि विश्व समुदायमा एक मतले आवाज उठ्यो, अब गैँडाको अस्तित्व नाश हुने त होइन ? सके त्यहाँको सरकारले संरक्षणको काम गरोस्, नसके विश्व परिवारले सहयोगी हातहरू अगाडि बढाउन तत्पर हुनुपर्छ ।
अन्तर्राष्ट्रिय जगत्ले यस्तो आवाज उठाएको केही दिन नपुग्दै नेपालले भने विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाको सङ्ख्या वृद्धिको सन्देश प्रवाह ग¥यो । विश्व मानव जातिलाई नेपालले अप्रत्यासित रूपमा एउटा खुसीको खबर बाँडिरहँदा संरक्षणमा प्रत्यक्ष सरोकार राख्ने हजारौँ अनुसन्धानदाता, प्राध्यापक, विद्यार्थी, फोटोग्राफर, वन्यजन्तु पर्यटक तथा वन्यजन्तु अधिकारकर्मीले एकैपटक ‘वाउ नेपाल’ भनेर नेपालले संरक्षणका क्षेत्रमा गरेको प्रयासको सराहना गरे ।
गत चैत ९ गतेबाट चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट गैँडा गणनाको शुभारम्भ गरेको सरकारले चैतको अन्तिम साता गणनाको प्रतिफल सार्वजनिक गर्न सफलता हासिल ग¥यो । नेपालमा एकसिङे गैँडाको गणना हुन थालेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले निरन्तर प्रवाह गरिरहँदा विश्वको ध्यान नेपालको गैँडातर्फ तानिनु स्वाभाविकै थियो ।
जब नेपालले गैँडाको राष्ट्रिय गणनाको प्रतिवेदन सार्वजनिक ग¥यो अनि संरक्षणमा लामो अनुभव बटुलेका अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्थाका प्रतिनिधिले एक मतले टिप्पणी गरे, नेपालले विश्वसमुदायका अगाडि ‘एक नमुनायोग्य’ काम गरेको छ ।
हुन पनि हो, वार्षिक आर्थिक वृद्धि दर एक अङ्कमा रहँदै आएको राष्ट्र नेपालले हरेक वर्ष प्राकृतिक विपत्तिको सामना गर्दै बढ्दो जलवायु परिवर्तनको असर र विश्वव्यापी रूपमा बढेको तापक्रमको प्रभावलाई समेत उछिनेर विश्वमै सानो सङ्ख्यामा सीमित भएको एकसिङे गैँडाको सङ्ख्या वृद्धि गर्न सफलता हासिल गरेपछि अन्तर्राष्ट्रिय समुदायले नेपालको ‘आश्चर्यजनक सफलता’ भन्नु स्वाभाविकै थियो ।
नेपालमा सन् १९५० को दशकमा पहिलो पटक गैँडाको औपचारिक रूपमा गणना गर्ने काम भएको हो । तत्कालीन अवस्थामा आठसयको हाराहारीमा रहेका गैँडाको सङ्ख्या सन् १९७० को दशकसम्म आइपुग्दा त एक सयभन्दा तल झरिसकेको थियो । यो समयमा नेपालमा मात्र होइन, विश्वमा औद्योगिक युग सुरु भएसँगै प्राकृतिक स्रोत माथिको अधिक दोहनले संसारभरि नै धेरै प्रजातिका वन्यजन्तु लोप भए, अस्तित्व मेटिए । वन्यजन्तुका लागि यो समय ‘सङ्कटकाल’ लागे झैँ भएको थियो ।
सन् १९७० पछि केही सकारात्मक काम भए । जसअनुसार नेपालमा गैँडा, बाघ, हात्तीजस्ता वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुँदै थियो । नेपालमा १० वर्षको आन्तरिक द्वन्द्वको समय फेरि वन्यजन्तुका लागि अप्ठ्यारो समयको रूपमा साबित भयो । १० वर्षको द्वन्द्वको अवधिमा ६० भन्दा बढी गैँडा र त्यति नै सङ्ख्यामा बाघको चोरीशिकारी भयो । दर्जनौँ हात्तीको दाँत काटेर हात्तीलाई कुरूप पारियो ।
नेपालले पछिल्लो पटक गरेको संरक्षणका कामले गैँडाको सङ्ख्या सन् १९५० को स्थिति नजिक पुग्न आँटेको छ । सन् १९५० तिर आठ सयको सङ्ख्यामा रहेको एकसिङे गैँडा सन् २०२१ को गणनामा आइपुग्दा ७५२ पुगेको छ । ‘बिगार्न र भत्काउन खासै समय लाग्दैन तर सपार्न र व्यवस्थापन गर्न निकै लामो समय र मिहिनेत लाग्दो रहेछ’, एकसिङे गैँडामा विद्यावारिधि गर्नुभएका डा. शान्तराज ज्ञवालीले भन्नुभयो, ‘झण्डै ७० वर्षको प्रयासपछि हामी सन् १९५० तिरको ऐतिहासिकता नजिकै पुग्ने कोसिस गर्दैछौँ । चोरीशिकारीको निशानामा पर्दै वनजङ्गलबाट रित्तिएका गैँडालाई फेरि जगेर्ना गर्न सरकार, दातृ निकाय र स्थानीय समुदायको साझा प्रयास सफल भएको छ । यसले ती वन्यजन्तुको अस्तित्व अझै छ भने सन्देश विश्व समुदायलाई दिएको छ ।

विश्व समुदायको नजर
गैँडाको सङ्ख्या बढेको समाचार सार्वजनिक भएपछि चितवनको सौराहालगायत ठाउँमा दीप प्रज्वलन गरियो । जसको खबर विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका प्रमुख डा. घनश्याम गुरुङले विश्वभरि रहेका आफ्ना सहयात्रीसँग साट्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल आर्थिक रूपमा सम्पन्न राष्ट्र होइन तर संरक्षणका लागि धनी मुलुकको भन्दा छाती चौडा बनाएर काम गरेको छ । नेपालले संरक्षणमा गरेको काम संसारकै ‘अग्रस्थान’ मा छ ।
जुओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालका प्रमुख डा. हेमसागर बरालको टिप्पणी पनि उस्तै छ । डा. बरालका शब्दमा नेपालको यो नमुन(ायोग्य काम अब संसारका अरू देशले अनुसरण गर्नुपर्छ । विश्वमै सङ्कटमा परेको वन्यजन्तुलाई जोगाउने काममा नेपालले सफलता हासिल गरेको छ । यसलाई कम आकलन गर्न हुँदैन । नेपालका सामुदायिक वनको अवधारणा विश्वभरि अनुसरण गरियो भने स्थानीय बासिन्दासँगको सहकार्य गरी गरिएको जैविक विविधता संरक्षणको मोडल पनि संसारभरि उदाहरणीय बनेको छ । चितवनको जङ्गलमा गैँडा हेर्नका लागि सन् १९९० देखि हालसम्म २५ पटक नेपाल पुगिसक्नुभएका रुसी नागरिक अलेक्जेण्डर लुइसले नेपालप्रति श्रद्धापूर्वक आफ्ना शब्द यसरी खर्चिनुभएको छ । उहाँले ट्वीट गर्दै भन्नुभएको छ, मैले २५ पटक नेपालको भूमि टेके, मलाई मन परेको चितवनको गैँडाको बच्चा ‘केटो’ हो । अब फेरि त्यही ‘केटो’ लाई हेर्न आतुर छु र नेपालसँगको २६औँ शृङ्खलाको तयारीमा जुटेको छु ।

पर्यटन विकासकोे आधार
चिवतन राष्ट्रिय निकुञ्ज छेउछाउका दर्जनौँ ठाउँ अचेल पर्यटकीय गन्तव्य बनेका छन् । यसको एउटै कारण हो, चिवतन राष्ट्रिय निकुञ्ज भित्रका वन्यजन्तु र त्यहाँको जैविक विविधता । सौराहा, कसरा, अमलटारी, नारायणगढलगायतका ठाउँमा खुलेको तारे तथा सुविधा सम्पन्न होटेलको कमाइको आशा त्यही निकुञ्ज हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार नेपालमा आउने कुल पर्यटकको ६० देखि ८० प्रतिशत पर्यटकले कि हिमालको दृश्य हेरेका हुन्छन् भने कि चितवन, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खुट्टा टेकेका हुन्छन् । त्यसैले नेपालको पर्यटन व्यवसाय कुनै न कुनै रूपमा प्राकृतिक सौन्दर्य र वन्यजन्तुमा आधारित रहेको देखिन्छ ।
वन्यजन्तुमा आधारित पर्यटकीय गन्तव्यमा विश्वकै एक उत्कृष्ट स्थानको रूपमा नेपाल पर्छ । विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडालाई पाइला पाइलामा देख्न सकिने ठाउँको रूपमा रहेको चितवनको विदेशसम्म प्रचार हुनु सकारात्मक कुरो हो । पछिल्लो गणनामा बर्दिया र शुक्लाफाँटामा पनि बाघ र गैँडाको सङ्ख्या बढेका छन् । यसले ती क्षेत्रहरूमा पनि पर्यटकीय विकासका आधार बलियो हुन थालेको आचार्यको भनाइ छ ।
चितवनमा विदेशी आउन थालेको त छ दशकभन्दा बढी भइसक्यो । बाघका लागि बर्दिया र एकसिङे गैँडाका लागि सहज रूपमा हेर्न र देख्न सकिने स्थानको रूपमा चितवन विश्वभरि प्रसिद्ध छ । हाल नेपालमा एकसिङे गैँडाको सङ्ख्या थपिएको सन्देशले कोरोनाको समस्या हटेपछि पर्यटकको सङ्ख्या निकै भित्रिन सक्ने आकलन विभागले गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज वरिपरि खुलेका होटेलको लगानी हेर्ने हो भने २० अर्ब रुपियाँभन्दा बढी पुगेको छ । बर्दिया र शुक्लाफाँटामा अहिले सुविधा सम्पन्न होटेल खुल्ने क्रम जारी छ । यति ठूलो लगानीको पछाडि यिनै वन्यजन्तुको सङ्ख्या मुख्य कारण रहेको छ । नेपाल विश्वको त्यस्तो मुलुक हो, जहाँ जङ्गलभित्र पसेको एक घण्टाभित्रै एकसिङे गैँडाको आमा र बच्चा (केटो) सजिलैसँग अवलोकन गर्न पाइन्छ । कहिलेकाहीँ त होटेलको बार्दलीमै बसेर पनि सौराहाका सडकमा गैँडाले ‘क्याटवाक’ गरेको देख्न सकिन्छ । घरपालुवा जनावर जस्तै होटेलका बार्दलीबाट विश्वमै दुर्लभ मानिएको वन्यजन्तुको दृश्यावलोकन गर्न पाउनु वन्यजन्तु पर्यटन व्यवसायका लागि अलौकिक र उच्चतम आनन्दका नमुना मानिन्छन् । तर नेपालमा भने हरेक दिन जसो यस्ता घटना भइरहेका हुन्छन् । अफ्रिका, भारत, इण्डोनेसियालगायत देशमा देख्न नसकिएका वन्यजन्तु नेपालका निकुञ्जभित्र सहजै देख्न पाउँदा नेपालप्रतिको मोह बढ्ने गरेको छ । त्यसैले होला वन्यजन्तु हेर्न आउने पर्यटकको नेपाल बसाइँ र आवातजावत समय अरू पर्यटकको भन्दा बढी हुने गरेको छ ।

चोरीशिकार सदाबहार चुनौती
एकसिङे गैँडाको सङ्ख्या वृद्धिले नेपाललाई जति उत्साह थपेको छ । त्यति नै चुनौतीका चाङ पनि देखिन थालेका छन् । वन्यजन्तुको अवैध व्यापार बढी हुने मुलुक चीन हो । चीनमा त्यस्ता वस्तुको माग अधिक हुने भएकोले नेपालमा बाघ, गैँडा, चितुवा, रेडपाण्डालगायत वन्यजन्तुको चोरीशिकार बढी मात्रामा हुने गरेको अध्ययनहरूले देखाएको छ । वन्यजन्तुको आखेटोपहारको कारोबार गर्दा गर्दै भेटिएका अधिकांश घटनाको अध्ययनले ती सामानको निर्यात चीनतर्फ हुने गरेको देखिएको छ । जुन कुरा नेपालका लागि ठूलो चुनौती हो ।
हुन त नेपालले सन् २०११ बाट गैँडाको शून्य शिकार वर्ष मनाउन सुरु गरेको हो । केही हदसम्म यो अभियानमा नेपाल सफल पनि भएको छ । सन् २०११ बाट हालसम्म छ वटा गैँडा मात्र चोरी शिकारको निशाना बनेका छन् । गैँडाका विषयमा विद्यावारिधि गर्नुभएका डा. नरेश सुवेदीका भनाइ एकसिङे गैँडाको संरक्षणमा चोरीशिकारको चुनौती सदावहारको चुनौती हो । यसै वर्ष चार वटा गैँडा चोरीशिकारको निशाना बनेर मारिए । हरेक दिन गैँडाको चोरीशिकारका लागि उत्तिकै संवेदनशील र चुनौतीपूर्ण छ । डा. सुवेदीले भन्नुभयो, गैँडा पानीको आहाल र घाँसे मैदानभन्दा पर जान सक्दैन । अनि चोरीशिकार गर्नेलाई निशाना लगाउन सजिलो हुन्छ । यो नै गैँडा संरक्षणका लागि चुनौती हो ।

आगामी बाटो
एकातिर गैँडाको सङ्ख्या बढेको भन्दै नेपालले सन्तोषको सास फेरेको देखिन्छ । तर सङ्ख्याको वृद्धिसँगै चुनौती थपिँदै गर्दा समाधानका उपायको खोजीमा तत्काल लागि हाल्नुपर्ने अवस्था देखिएको छ । सन् २०२१ को गणनामा चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटमा १७ र पर्सामा तीन वटा गरी ७५२ वटा गैँडा रेकर्ड गरिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. बाबुराम लामिछानेका भनाइमा गैँडाको उपस्थितिको अवस्थाले नै चुनौतीको अवस्था सिर्जना गरेको छ । सबैभन्दा बढी चितवनमा देखिनुले चितवनमा घाँसे मैदानको व्यवस्थापन, पानीको स्रोतको अवस्थामा सुधार तथा थप घाँसे मैदानको निर्माण गर्नुपर्ने देखिएको छ ।
चितवनको पनि पश्चिमी क्षेत्रमा गैँडाको घनत्व बढी भएकोले खाने आहारको समस्या देखिन थालेको छ भने कतिपय गैँडा एकापसमा जुधेर घाइते हुने र मर्नेसमेत गरेका छन् । अर्काेतिर नारायणी नदीको दुईवटा भँगालोको बीचको तटीय क्षेत्रमा रहेका गैँडा सन् २०१७ को बाढीले बगाएर कति भारत पुगे भने कतिपय बच्चा बाढीले बगाएर बेपत्ता पारेको थियो ।
चितवनको पश्चिमी भागमा पछिल्लोपटक देखिएको समस्यालाई समाधान गर्ने उपायका बारेमा डा. सुवेदी त्यहाँ बढी भएको गैँडालाई निकुञ्जको पूर्वी भेगमा आन्तरिक स्थानान्तरण गर्नुपर्ने सुझाव दिनुहुन्छ । त्यसैगरी बर्दिया र शुक्लाफाँटामा पनि गैँडाको सङ्ख्या कमै भएको तर बासस्थानको अवस्था राम्रो देखिएकोले चितवनका केही गैँडालाई ती राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्न सकिने तर्क डा. सुवेदीको छ । gorkhaptra