इतिहास र पुराण सम्बन्धी केही जानकारी

  • सञ्चार लाइभ प्रकाशित : May 2, 2021
  • कमल रिजाल

१, रामायणबारे केही…..

क, रामायण भनेको रामले हिडेका बाटो देखाउने पद्धतिको हो । रामायण धेरैवटा छन् । यिनमा योगवासिष्ट महारामायण, मूल रामायण, अध्यात्म रामायण, वाल्मीकीय रामायण, अद्भूत रामायण, आनन्द रामायण, काकभुसुण्डी रामायण, भविष्य रामायण, भानुभक्तीय रामायण र तुलसीकृत रामायण आदि पर्छन् । यीमध्ये वाल्मीकीय रामायण, आनन्द रामायण, भानुभक्तीय रामायण नेपालमा लेखिएका रामायण हुन् ।

ख, सबैभन्दा पुरानो रामायण वाल्मीकीय रामायण हो, जसलाई संसारकै आदि महाकाव्य मानिएको छ । महर्षि वाल्मीकद्वारा रचित यस रामायणमा २४ हजार श्लोक रहेका छन् ।

ग, रामायणका सूत्राधार दशरथ पत्नी कैकेयी र महाराज दशरथ आफैँ हुन् । मूल नायक दशरथ पुत्र राम र मूल नायिका उनकै पुत्रबधु सीता हुन् । सह नायकमा रामका सेवक हनुमान, भाइ लक्ष्मण, भरत, शत्रुघ्न आदि पर्छन् भने खल नायक लङ्काधिपति रावण र खल नायिका रावणकी बहिनी सुपर्णखा हुन् ।

घ, रामका कुल गुरु महर्षि वसिष्ठ र विद्या गुरु विश्वामित्र हुन् । वसिष्ठका बाबु महर्षि मित्रावरुण र आमा उर्वशी अप्सरा हुन् । विश्वामित्र भने क्षत्रीय राजा विश्वरथबाट तपस्याको बलले महर्षि पदमा पुगेका थिए ।

ङ, रामले पत्नी सीता र भाइ लक्ष्मणको साथमा १४ वर्ष वनवासमा बिताएका थिए । यसैबेला रावणद्वारा सीता अपहरणमा परेकी थिइन् ।

च, रामायण मूलतः करुण रस प्रधान महाकाव्य हो तर प्रसङ्ग अनुसार वीर, रौद्र, भयानक आदि सबै रस प्रयोग भएका छन् ।

२, महाभारतबारे केही

क, महाभारतका रचनाकार महर्षि व्यासजी मानिएका छन्, जसको जन्म मत्स्यगन्धा नामक माझिकी छोरीको गर्भबाट भएको थियो । व्यासको जन्मपछि सत्यवतीको नामले परिचित मत्स्यगन्धाको विवाह तत्कालीन हस्तिनापुर नरेश शन्तनुको साथमा भएको थियो ।

ख, महाभारतको सूत्रधार तिनै शन्तनु र सत्यवती हुन् । उनीहरूकै स्वार्थका कारण महाभारत भएको थियो ।

ग, महाभारतको मूल नायक कृष्ण र मूल नायिका द्रौपदी हुन् । यसका नायकमा पाण्डुपुत्र युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव पर्छन् । खल नायकमा दुर्योधन र उनका मामा शकुनि तथा सह खलनायक दुर्योधनकै भाइ दुःशासन रहेका छन् ।

घ, महाभारतको सुरुको नाम ‘जय’ हो, जसको श्लोक सङ्ख्या ८ हजार थियो । पछि यसै काव्यलाई भारत भन्न थालियो । यसलाई विभिन्न घटना थप्दै लगेर एक लाख श्लोकको बनाएपछि महा विशेषण थपेर महाभारत भन्न थालिएको हो ।

ङ, महाभारतमा १२ हजारभन्दा बढी पात्रहरूका भूमिका रहेका छन् ।

३, पुराणबारे केही

क, पुराणलाई स्मृत ग्रन्थ र वेदलाई विनिर्गत ग्रन्थ मानिएको छ । पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार ब्रह्माजीले सर्वप्रथम पुराणको सम्झना गरेका थिए । त्यसपछि मात्र उनको मुखबाट वेद विनिर्गत भएको हो ।

ख, ब्रह्माजीले सम्झना गरेका पुराणको श्लोक सङ्ख्या एक करोड थियो । त्यसैलाई व्यासजीले साढे सात लाख श्लोकमा झारेर विभिन्न पौराणिक ग्रन्थमा आबद्ध गरेका हुन् ।

ग, पौराणिक ग्रन्थ १८ वटा महापुराण, १८ वटा उपपुराण, १८ वटा औपपुराण र १८ वटा उपौपपुराण गरी कुल ७२ वटा रहेका छन् ।

घ, पुराणहरू उपदेशात्मक ग्रन्थ हुन्, जसले विभिन्न कथा तथा दृष्टान्तद्वारा मानिसलाई गर्न हुने वा गर्नुपर्ने काम र गर्न नहुने कामको शिक्षा दिएका छन् ।

ङ, पौराणिक ग्रन्थहो रचना मरेका मानिसलाई तार्नका लागि नभई बाँचेका मानिसलाई सपार्नका लागि भएका हुन् ।

४, वेदबारे केही

क, वेद पहिले एउटै थियो । व्यासजीले बुझ्न सजिलो होस् भन्ने उद्देश्यले चार भागमा विभक्त गरेका हुन् ।

ख, वेद चार वटा छन्, जसलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद भनिन्छ ।

ग, चारवेदका चारैवटै उपवेद छन्, जसलाई क्रमशः स्थापत्यवेद (अर्थशास्त्र), धनुर्वेद, गान्धर्ववेद र आयुर्वेद भनिन्छ ।

घ, ऋग्वेदका २१ शाखा छन् । यीमध्ये हाल प्रचलित शाखाको नाम शैशिरीय शाकल शाखा हो, जसमा १० मण्डल, १०२८ वटा सूक्त र १० हजार ४७० मन्त्र छन् ।

ङ, यजुर्वेदका १०१ शाखा छन् । तिनमा हाल नेपाल र उत्तर भारतमा प्रचलित शाखाको नाम माध्यान्दिनीय वाजसनेयी शुक्ल यजुर्वेद हो । यसमा ४० अध्याय, १९७५ मन्त्र, ९०५२५ अक्षर र १२३० अनुस्वार छन् ।

च, सामवेदका एक हजार शाखा छन् । तिनमा हाल प्रचलित शाखाको नाम कौथुम–राणायणीय हो । यसमा पूर्वाचिक र उत्तरार्चिक गरी कुल १८८५ वटा मन्त्र छन् ।

छ, अथर्ववेदका नौ वटा शाखा छन् । तिनमा हाल प्रचलित शाखाको नाम शौनकीय शाखा हो, जसमा २० काण्ड, ७५९ वटा सूक्त र ५९४९ वटा मन्त्र रहेका छन् ।

ज, वेदका छ वटा अङ्ग छन्, जसलाई वेदाङ्ग भनिन्छ । वेदाङ्ग भएकाले वेदाङ्ग भनिएको हो, जसमा शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द र ज्योतिष पर्छन् ।

५, गीताबारे केही

क, जो मानिस संयमी छु, इन्द्रीय संयम गरेको छु भन्छ र मनले चाहिँ त्यसैको सम्झना गरिरहन्छ भने त्यस्ता मानिसलाई ढोँगी भनिन्छ । यस्ता मानिसले आफ्नो पनि हित गर्दैन र अरुको पनि हित गर्न सक्दैन (गीता ३।६)

ख, कर्म नगरी दैनिक व्यवहार नै चल्दैन । त्यसैले जस्तोसुकै अवस्थामा आफूलाई तोकिएको कर्म समर्पित हुने चेष्टा गर्नुपर्छ । यस्ता मानिसले आफ्नो र अरु सबैको हित र कल्याण गरिरहेको हुन्छ । (गीता ३।८)

ग, कर्मयोग र कर्म सन्न्‍यास दुवै कल्याणकारी मार्ग हुन् । तथापि दुवैको तुलना गर्दा कर्म सन्न्यासभन्दा कर्मयोग नै उत्तम मान्नुपर्छ । (गीता ५।२)

घ, जो मानिस सुख, दुःख, मान, अपमान आदि द्वन्द्वात्मक अवस्थामा पनि शान्त रहन सक्छ उसैले दुःखको संसारबाट मुक्ति प्राप्त गर्न सक्छ । (गीता ६।७)

ङ, ठीक समयमा खाने, ठिक्क खाने, ठीक समयमा सुत्ने, ठिक्क सुत्ने, ठीक समयमा उठ्ने, ठीक समयमा काममा संलग्न हुनेहरू आफैँमा सच्चा योगी हुन् । यस्तै योगबाट नै सबै किसिमको दुःखबाट उन्मुक्ति मिल्छ । (गीता६।१७)

च, मनको गति अत्यन्त चञ्चल हुन्छ । त्यसैले उसलाई स्थिर गर्ने हो भने नियमित अभ्यास र तीब्र वैराग्य आवश्यकता पर्छ । अर्थात् अभ्यास र वैराज्ञबाट मनलाई वशमा राख्न सकिन्छ । (गीता ६।३५)

छ, धर्मको अर्थ धारण गर्नु हो । जुन व्यवहारले शरीर धारण गर्छ, जीवन धारण गर्छ, परिवार धारण गर्छ, समाज धारण गर्छ र अन्ततः राष्ट्र धारणमा सहयोग पु¥याउँछ त्यही नै धर्म हो । (महाभारत)

ज, पाप भनेको परपीडन हो । मन, वचन कर्मद्वारा कसैको शरीरमा, मनमा, इज्जतमा, ख्यातिमा, यशमा, कीर्तिमा हानिनोक्सानी पु¥याउने सबै किसिमका काम पाप हुन् । (महर्षि व्यास)

झ, मस्तिष्क, मुख र शरीर गरी पापका तीन द्वार मानिएका छन् । यीमध्ये अनावश्यक लोभ गर्नु छलकपट, घृणा र द्वेष मस्तिष्कबाट हुने पाप हुन् । झुट बोल्नु, अनावश्यक गफ गरेर समय बिताउनु तथा कठोर वचन बोल्नु मुखबाट हुने पाप र हत्या, हिंसा, चोरी, डकैती, यौन व्यभिचार शरीरबाट हुने पाप हुन् । (बुद्ध वचन)