हारको जिम्मेवारी म लिन्छु, खेलाडीलाई दोष नदिनोस् : प्रशिक्षक अलमुताइरी

  • सञ्चार लाइभ प्रकाशित : May 30, 2021
  • SancharLive

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा इराकसँग फराकिलो अन्तरले पराजित भयो । शनिबार राति भएको खेलमा नेपाल इराकसँग ६–२ गोलले पराजित भएको थियो ।

नेपाली टोलीमा लामो समयपछि ठूलो परिवर्तन ल्याएका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको हारको जिम्मेवारी आफूले लिने बताएका छन् । उनले हारको विषयलाई लिएर खेलाडीहरुलाई गाली नगर्न समर्थकलाई आग्रह गरे ।

उनले आफूले तत्कालका लागिभन्दा धेरै पछिसम्मका लागि टिम तयार पारेको बताए । प्रशिक्षक अल्मुताइरीले भने, “नेपाली समर्थकहरुले खेलाडीलाई दोष नदिनुहोला । यो हारको दोष मैले लिन्छु । राम्रो टिम एकै समयमा बन्दैन । राम्रोे दिम बन्नलाई अझै केही समय लाग्छ । पछि गएर यो टिम बलियो भएर निस्कन्छ ।”

प्रशिक्षक अलमुताइरीले नेपाली टोलीमा ठूलो परिवर्तन ल्याएका थिए । उनले ६ जना नयाँ खेलाडीलाई टिममा स्थान दिलाएका थिए । उनले टिममा सुधार ल्याउन धेरै समय लाग्ने भएकाले केही समय पर्खन समर्थकहरुलाई आग्रह गरेका छन् ।

“हाम्रो टिम उत्कृष्ट बन्छ । त्यसका लागि समय लाग्छ । केही समय धैर्य गर्नोस्, टिम उत्कृष्ट देखिन्छ,” अलमुताइरीले भने ।