खुवालुङ ढुङ्गो मात्रै होइन

  • सञ्चार लाइभ प्रकाशित : June 2, 2021
  • प्रस्तुति-मनोज खतिवडा
-बर्तमान राज्य सरकारले राष्ट्रको गौरवको नाममा आदिवासी जनजातिलाई सदैव खलनायकीकरण गरिरहेको त छ नै, विकासको नाममा खुवालुङ नष्ट गर्ने, औपनिवेश लाद्ने, आदिवासीहरुका चिहान चौताराहरुमाथि डोजर चलाउने जस्ता हर्कतहरु निरन्तर गर्दै आइरहेकै छ। विशेषतः बिकासको नाममा आदिवासी जनजातिहरुको सांस्कृतिक पूर्वाधारहरुलाई अवरोध देख्नु, समुदायका सांस्कृतिक नामहरुलाई अपनाउन नसकी व्यक्तिका नामहरु प्रस्ताव गर्नु एकल नश्लीय चिन्तनकै उपज हो भन्दा फरक पर्दैन।
पछिल्लो समय सरकारले भाषा परिबर्तन गर्दै किरातहरुको सास्कृतिक संकेतको रुपमा रहेको खुवालुङ ढुङ्गालाई नष्ट गर्ने शब्द आर्थिक बर्षको बजेटमा राखेपछि चारैतिर बिरोध भईरहेको छ। यसै बिषयमा ओखलढुङ्गा मोलुंग हर्कपुर निवासी लेखक,पत्रकार मनोज खतिवडाले आफुले प्रयोग गर्ने सामाजिक संजाल मार्फत आफ्नो धारणा यसरि राख्नु भएको छ। (sancharlive.com)
          (नोट-प्रस्तुत बिचारको कुनैपनि शब्द सम्पादन गरिएको छैन)
          “विकास” गर्न खुवालुङ फुटाउनैपर्छ, आदिवासी वस्ती खोकना भत्काउनैपर्छ, चिहानहरु खोतल्नैपर्छ भन्ने किन लाग्छ सरकारलाई ? जवाफ प्रष्ट छ- सिंहदरबारको कुर्सीमा जोसुकै बसोस- आधारभुत रुपमा नेपाली राज्यसत्ता उपनिवेशवादी हो । मान्छेको भुमी र सभ्यतासङ्गको साइनो नबुझ्ने यो राज्यसत्ताले सांस्कृतिक दमन र उत्पीडन गर्छ । हुनत आधुनिक राष्ट्र राज्य नै घोर दमनकारी हुन्, आधुनिक राष्ट्र- राज्यका सिमा सभ्यताका सिमा भत्काएर बनेका हुन्, त्यसैले जुनसुकै राष्ट्र राज्यले खास खालको सभ्यता र संस्कृतीलाई बचाउँछ र अरुलाई भत्काउँछ ।
भुमीसङ्ग मानव समुदायको साइनो “भौतिक” मात्रै हुँदैन । भुमी भौतिक नक्सामा मात्रै हैन, मान्छेको सामुहिक स्मृतिमा सांस्कृतिक अवयवका रुपमा रहन्छ । कुनै ठाउँ विशेषमा जब मान्छेको समाज बस्न थाल्छ, उसले भुमीमाथी कथाहरु हाल्न थाल्छ । आफ्ना “मिथ” हरुद्वारा भुमीलाई “पवित्र” पार्छ । मान्छेका मनमा अतृप्त इच्छा चाहना हुन्छन् – ती पूरा गराउन कथाहरु मार्फत देवालयको सिर्जना गर्छ । ढुङ्गोमा आस्था भरेर दोबाटोमा पुज्न थाल्छ । वस्ती छेउ पुर्खाको चिहानघारी बनाउँछ, त्यहाँ पुग्दा दुई थुङ्गा फुल र दुई थोपा आँसु चढाउँछ । खोला, पहाड, पर्वत, देउराली, चौतारी, भन्ज्याङ सबैलाई मान्छेको समाजले अद्भुत कथाहरुद्वारा शृङ्गार भरेको हुन्छ । उसले यस्तो पवित्र आस्थाले सजाएको ठाउँ रातारात भत्काउँदै हिँड्नु उसलाई पहिचान नगर्नु हो, उसको अस्तित्वलाई अस्विकार गर्नु हो । उसलाई विद्रोहका लागि आमन्त्रण गर्नु हो । त्यसैले खुवालुङ एउटा ढुङ्गोमात्रै हैन, मुन्धुममा समेत वर्णन गरिएको आस्थाको “पवित्र” प्रतीक हो , यसलाई भत्काउँदै नहिँड । जातिवादी शासनको कुरुप मुखुण्डो ठाउँ ठाउँमा उत्रिसकेको छ- यो उपनिवेशवाद र नश्लीय राज्यसत्ताको ताण्डब बन्द गर ।