अभावले डेराबाट सडक ओर्लेका यौनकर्मीका दुःख

  • सञ्चार लाइभ प्रकाशित : June 5, 2021
  • अनिल यादब

कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेध आदेशले सहर सहरजस्तो छैन। सडकमा फाट्टफुट्ट सवारी चलिरहेका छन्। काठमाडौंस्थित पुरानो बसपार्कमा भ्युटावर निर्माण भइरहेको छ। निर्माणाधीन भ्युटावरकै छेउमा रत्नपार्क जोडिने आकाशे पुल छ। पुलछेउमा बागबजारका गेस्ट हाउस पुगिने सानो गल्ली छ। गल्लीकै मुखमा उभिइरहेकी थिइन्, अन्दाजी ४५–५० वर्षकी महिला।

एम्बुलेन्स कट्नासाथ फेरि उसैगरी सडकपेटीमा आइपुगिन्। एकटक नियालेपछि हामी उनको छेउमा पुग्याैं। देख्दा आमा समानकी थिइन्, तैपनि हामीलाई सोधिन्– ‘जाने हो?’

उनको हात पुर्पुरोमा थियो तर आँखा चनाखा थिए। घरी सडकको दायाँ, घरी बायाँ हेरिरहेकी थिइन्। मुखमा मास्क थियो। गुलाबी रङको फूलबुट्टे साडीकाे सप्काे नफुत्कियोस् भनेर समाइरहेकी थिइन्। सायद नबिग्रियोस् भनेर मिलाइरहेकी पनि थिइन्। एक्कासि परबाट साइरन बजेको सुनियो। छेउछाउ अरू पनि केही युवती र महिला थिए। सबैले संकेत दिए, ‘आयो, आयो।’ हत्तपत्त एक हातले साडी समाउँदै उनी पनि अरुसँगै गल्लीतिर भागिन्।

साइरन बजाउँदै आइरहेको गाडी, पुलछेउमा आइपुग्दा थाहा भयो– एम्बुलेन्स रहेछ। तर प्रहरीको भ्यान सम्झेर उनीहरू भागे। एम्बुलेन्स कट्नासाथ फेरि उसैगरी सडकपेटीमा आइपुगिन्। एकटक नियालेपछि हामी उनको छेउमा पुग्याैं। देख्दा आमा समानकी थिइन्, तैपनि हामीलाई सोधिन्– ‘जाने हो?’

सुनसान सडक किनारामा ग्राहक खोजिरहेका यौनकर्मी। तस्बिर : दिनेश श्रेष्ठ 

त्यसपछि सुरु भयो हामीबीच संवाद :

‘कहाँ जाने?’

‘यही गल्लीभित्र गेस्ट हाउसमा।’

‘कति हो र?’

‘१२ सय हो, १ हजार दिनु, कोठा भाडा पनि त्यसमै मिलाउँला।’

‘यस्तो कोरोनाको बेला, डर हुँदैन?’

‘डर लाग्ने भए, मास्क नखोलौंला!’

‘किन तपाईंलाई डर लाग्दैन?’

‘अहँ, बानी परिसक्यो। डरायो भने हामीलाई कसले खान दिन्छ?’

हामीले त्यसै बार्गेनिङ गरेको ठानेर त्यसपछि उनी हामीसँग तर्किइन्।

०००

दृश्य २ 

मोटरसाइकलमा गौशाला हुँदै रातोपुलतिर लाग्दै थियौं– सडकपेटीमा बसिरहेकी अधबैंसे महिलातिर एक्कासि नजर पर्‍यो। जो अरूले नदेखून् झैं गरेर आफूतिर आउन इसारा गरिरहेकी थिइन्। सगरमाथा गेस्ट हाउसको मुनि सडकपेटीमा अडेस लाएर बसिरहेकी ती महिला देखेपछि हामीले अलिकति अगाडि पुगेर बाइक रोक्यौं। उनी त परैबाट सांकेतिक भाषामा संवाद गर्न थालिन्। माथि गेस्ट हाउसतिर औंला देखाउँदै औंलाकै भाषामा भनिरहेकी थिइन्, ‘आऊ, जाऊँ माथि।’ करिब १५ मिनेटसम्म उनले हामीसँग यसैगरी इसारा गरिरहेकी थिइन्। तर, हामीले जान आनाकानी गरेपछि निराश हुँदै अन्यत्र लागिन्।

०००

बुधबार रिपोर्टिङका क्रममा हामीसँग ठोक्किएका दृश्य हुन्, यी। काठमाडौंको यौनबजार अब पाठकका लागि कुनै नयाँ खबर होइन। तर, नयाँचाहिँ के हो भने यतिखेर काठमाडौंमा निषेध आदेश तोडेर सडकमा निस्कन बाध्य भएका छन्, यौनकर्मी। उनीहरुलाई न कोरोना लाग्ला भन्ने चिन्ता छ, न सडकमा निस्कँदा प्रहरीले थुन्ला भन्ने डर। पिर छ त भोको पेटकै।​​

‘सरकार र समाज दुवैले यौनकर्मीलाई वास्ता गरेका छैनन्’, तेस्रो लिंगीको अधिकारका लागि काम गर्ने ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ भन्छिन्, ‘अझ तेस्रो लिंगी यौनकर्मीलाई त कहिल्यै राम्रो नजरले हेरिँदैन। अहिले कडा लकडाउनका कारण पहिलेजस्तो सबै यौनकर्मीले काम गर्न पाएका त छैनन् तर पनि केही साथीहरु जति कडा भए पनि नयाँ बसपार्क, पुरानो बसपार्क क्षेत्रतिर बाध्यताले ग्राहक खोज्दै सडकमा निस्किरहेका छन्।’

उमेरले १८ देखि ५० वर्षसम्मका यौनकर्मी त्यहाँ उपस्थित थिए। सबैको मुखमा मास्क अनिवार्य थियो। ग्राहकले अनुहार देखाउन अनुरोध गर्दा पनि उनीहरु मानिरहेका थिएनन्। भन्दै थिए, ‘जे जे खोल्नुपर्ने हो, कोठामै पुगेर खोलौंला।’

बुधबार साँझ हामी पुरानो बसपार्क नजिककै आकाशे पुलमा पुग्दा करिब २०/२२ जना यौनकर्मी सडकमा ग्राहक कुरिरहेका थिए। तीमध्ये अधिकांश महिला थिए भने केही तेस्रो लिंगी यौनकर्मी। कहिले उनीहरूको छेउमा पुगेर मोटरसाइकल रोकिन्थ्यो त कहिले कार। त्यसपछि उनीहरु सडकबाटै ग्राहकसँग ‘बार्गेनिङ’ सुरु गर्थे। हामीसँगको कुराकानीमा अधिकांशले आफ्नो मूल्य ‘एक घण्टाको १२ सय’ भने। तर, त्यति पैसामा पनि ग्राहक जान तयार नहुँदा उनीहरू घटेर एक हजारमै मान्न तयार देखिए।

उमेरले १८ देखि ५० वर्षसम्मका यौनकर्मी त्यहाँ उपस्थित थिए। सबैको मुखमा मास्क अनिवार्य थियो। ग्राहकले अनुहार देखाउन अनुरोध गर्दा पनि उनीहरु मानिरहेका थिएनन्। भन्दै थिए, ‘जे जे खोल्नुपर्ने हो, कोठामै पुगेर खोलौंला।’

आकासे पुलमा ग्राहकको प्रतिक्षामा यौनकर्मी। तस्बिर : दिनेश श्रेष्ठ

‘सबैलाई राहत बाँडेको सुन्छु तर हामी यौनकर्मीलाई कसले दिने,’ १५ वर्षदेखि निरन्तर यौन पेसामा लागेको बताउने एक यौनकर्मी पुरानो बसपार्कमा हामीसँग गुनासो गर्दै थिइन्, ‘यहाँ अरूले भोकै भयौं भने भात खुवाउँछन् तर हामीले भोकै भयौं भन्यौं भने लखेट्छन्।’

‘यहाँ भएका प्रायः सबै अहिले बागबजारकै गेस्ट हाउसतिर बसिरहेका छन्,’ प्रियाले भनिन्, ‘सबै काम गर्नुपर्ने बाध्यताका कारण बसिरहेका हुन्। साँझ परेपछि सडकमा निस्कन्छन्। ग्राहक फेला पर्‍यो भने खल्ती भरिन्छ, नत्र रित्तै हो।’

सेतो टिसर्ट, ग्रन्च पाइन्ट लगाएर उभिएकी थिइन्, अर्की युवती। आफूलाई सिन्धुपाल्चोककी प्रिया तामाङ बताउने उनी खासमा जोरपाटी बस्दी रैछिन्। तर, उनले निषेध आदेश सुरु भएयता बागबजारमै बसिरहेको बताइन्। ‘यहाँ भएका प्रायः सबै अहिले बागबजारकै गेस्ट हाउसतिर बसिरहेका छन्,’ प्रियाले भनिन्, ‘सबै काम गर्नुपर्ने बाध्यताका कारण बसिरहेका हुन्। साँझ परेपछि सडकमा निस्कन्छन्। ग्राहक फेला पर्‍यो भने खल्ती भरिन्छ, नत्र रित्तै हो।’ उनी गाउँबाट होटलमा काम गर्ने भनेर काठमाडौं आएकी हुन् रे। तर ‘दिदी’हरुको संगतमा यता लागेको बताउँछिन्।

निषेध आदेशकै बेला पनि आफूले पाँच हजारसम्म कमाएको उनले सुनाइन्। हामीले ‘अलि अँध्यारो भएपछि मात्रै जाने’ आश्वासन दिएका कारण उनी हामीसँग खुलेर बोलिरहेकी थिइन्। त्यत्तिकैमा पर प्रहरीको भ्यान आउँदै गरेको देखियो। एकाएक यौनकर्मी र ग्राहकबीच भागाभाग सुरु भयो। कोही गल्लीतिर लुक्न गए, कोही आकाशे पुलमाथि त कोही सडक पार गर्न थाले।

प्रहरी भ्यान जब त्यहाँबाट टुँडिखेलको चक्कर लाउँदै बाटो लाग्यो, त्यसपछि फेरि उनीहरु आफ्नो कर्ममा जुटिहाले। तीनजना १८–१९ वर्षका केटा प्रियाको छेउमा आइपुगे। तीनमध्ये दुई हजारमा दुई जना उनीसँग जान तयार भए। प्रियाले उनीहरुलाई गल्ली हुँदै स्वागतम् गेस्ट हाउस लिएर गइन्।

करिब आधा घण्टापछि उनीहरु फर्किए। ‘ह्याप्पी मुड’ मा फर्किएका ती टिनएजरहरुलाई हामीले सोध्यौं, ‘यस्तो बेला यसरी हिँड्दा कोरोना सर्ने डर लाग्दैन?’ ‘जोली मुड’ मा उनीहरुले जवाफ फर्काए, ‘कहाँ डराउनु, दाजु। केही हुँदैन क्या। कोरोना लागेको केटीहरु कहाँ यसरी रोडमा आउन सक्छन् त?’

आकासेपुलमाथि ग्राहककै प्रतिक्षामा अर्की यौनकर्मी। तस्बिर : दिनेश श्रेष्ठ

तनावमा तेस्रो लिंगी यौनकर्मी 

बुधबार राति ७ः३० बजेतिर नयाँ बसपार्कस्थित सडकमै भेटिएकी एक तेस्रोलिंगी यौनकर्मी ब्वाइफ्रेन्डको दबाबका कारण सडकमा निस्कन बाध्य भएको बताइरहेकी थिइन्। उनी कोठामा पुरुष पार्टनरसँग बसिरहेकी रैछिन्। भन्दै थिइन्, ‘नर्मल टाइममा ग्राहक पाइन्थ्यो, पैसा हुन्थ्यो, ब्वाइफ्रेन्ड पनि खुसी हुन्थ्यो। अहिले पैसा भएन, खालि झगडा हुन्छ, ब्वाइफ्रेन्ड रिसाउँछ मात्र। त्यसैले सडकमा निस्कन बाध्य छु। नत्र यस्तो बेला सडकमा निस्कन कसलाई रहर हुन्छ र?’

ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ पनि यो समस्यासँग जानकार छिन्। अधिकांश तेस्रो लिंगी यौनकर्मी अहिले यो समस्याबाट गुज्रिरहेको उनले बताइन्। ‘हो, कतिपय यौनकर्मीले मेल पार्टनर राखेर कोठामा बसिरहेका छन्। कमाइ भएका बेला उनीहरु खुसी भएर बसेका हुन्छन्,’ अध्यक्ष गुरुङ भन्छिन्, ‘अहिले कमाइ नभएका बेला दिनहुँ झगडा, कुटपिट भएका खबर आइरहेका छन्। उनीहरूमा मानसिक तनाव बढिरहेको छ। भविष्य अन्योल छ। बिहान खाएर, बेलुका के खाने भनेर चिन्तित छन्। घरबेटीको उस्तै किचकिच छ।’

अघिल्लो वर्ष कोरोना महामारीबाट सिर्जित आर्थिक र मानसिक तनावकै कारण २० जना तेस्रो लिंगीले आत्महत्या गरेका थिए भने १० जनाले आत्महत्याको प्रयास। जसमा अधिकांश तेस्रो लिंगी यौनकर्मी थिए। यसपटक पनि एक महिनाभित्र दुई जना तेस्रोलिंगी यौनकर्मीले आत्महत्या गरेको अध्यक्ष गुरुङले जानकारी दिइन्।

यसै कारण धेरै तेस्रो लिंगी यौनकर्मी साथीहरूलाई अहिले डिप्रेसन र एन्जाइटीको लक्षण देखिएको उनी बताउँछिन्। ‘यौनकर्मीका समस्याका विषयमा न सरकारले सोचेको छ, न यो समाजले। सबैले तिरस्कार गरेकै कारण उनीहरू भोकै बस्न बाध्य छन्’, उनी थप्छिन्, ‘हामीले पनि राहत वितरण गर्ने भनेको तर सीडीओबाट पास नपाउँदा ढिला भयो। अब चाँडै बाढ्छौं।’

अघिल्लो वर्ष कोरोना महामारीबाट सिर्जित आर्थिक र मानसिक तनावकै कारण २० जना तेस्रो लिंगीले आत्महत्या गरेका थिए भने १० जनाले आत्महत्याको प्रयास। जसमा अधिकांश तेस्रो लिंगी यौनकर्मी थिए। यसपटक पनि एक महिनाभित्र दुई जना तेस्रोलिंगी यौनकर्मीले आत्महत्या गरेको अध्यक्ष गुरुङले जानकारी दिइन्। उनका अनुसार दुईजनाले आत्महत्या प्रयास गरेका छन् भन् दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। त्यस्तै ३३ जना तेस्रोलिंगी कोरोना संक्रमित छन्।

काठमाडौंमा तेस्रो लिंगी यौनकर्मी र समलिंगी यौनकर्मी पुरुष गरेर करिब दुई हजार यौनकर्मी रहेको अनुमान गुरुङको छ। उनी भन्छिन्, ‘अहिले उनीहरू सबै आर्थिक र मानसिक समस्याबाट गुज्रिरहेका छन्। कतिपयमा कोरोना लक्षण देखिए पनि अस्पतालमा गरिने विभेदकारी व्यवहारका कारण स्वास्थ्य सेवा लिनबाट हिच्किचाइरहेका छन्। उनीहरू कष्ट सहेर घरमै बस्न बाध्य छन्।’

आकासेपुलमा ग्राहक कुरिरहेकी यौनकर्मी। तस्बिर : दिनेश श्रेष्ठ
​​

उच्च जोखिममा यौनकर्मी

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन यौनकर्मीहरु यतिखेर कोरोनाको उच्च जोखिममा रहेको बताउँछन्। ‘दुईजना जति नजिक भयो, भाइरस उति नै छिटो सर्ने हो,’ उनी भन्छन्, ‘तर, दुःखको कुरा यतिबेला यौनकर्मीको समस्यामा कसैले ध्यान दिएको छैन। यो पेसामा उच्च सतर्कता अर्थात् जनस्वास्थ्य मापदण्ड पालना गर्न पनि सम्भव हुँदैन। यहाँ बढी भावनात्मक उत्तेजनाले काम गर्छ जसका कारण जीवन नै जोखिममा पर्न जान्छ।’

नेपालमा यौन व्यवसायले कानुनी मान्यता पाएको छैन। तर, यो ‘ओपन सेक्रेट’ प्रति यहाँको सरकार, प्रहरी, समाज सबै जानकार छन्। ‘सायद कानुनी मान्यता नपाएकै कारण यौनकर्मीहरुले भ्याक्सिन पनि पाएनन्’, डा. पुन भन्छन्, ‘ग्राहकविना उनीहरुको रोजीरोटी नचल्ने भएर पनि होला, उनीहरू यो महामारीमा पनि सडकमा आउन बाध्य छन्। तर, यसले कोरोनाको जोखिम झन् बढाउँछ। त्यसैले उचित राहतको व्यवस्थापन गर्दै सरकारले उनीहरुलाई सडकमा नआउने वातावरण सिर्जना गर्न जरुरी छ।’

(रिपोर्टमा यौनकर्मी पात्रको नाम परिवर्तन गरेर राखिएको हो।) copy- nepalsamay