जलवायु परिवर्तन र प्रकृतिबारे जनचेतना फैलाउँदै बाबुछोरा सगरमाथाको शिखरमा [भिडियोसहित] अब ६ वटा महादेशको अग्लो हिमाल पनि चढ्ने

  • सञ्चार लाइभ प्रकाशित : June 24, 2021
  • SancharLive

विश्व व्यापी रुपमा दिनप्रतिदिन बढिरहेको तापक्रमका कारण जलवायु परिवर्तन भैरहेको छ । पहिलेको वर्षभन्दा पछिल्लो वर्षहरुमा हिमालको हिउँ पग्लिएर हिमनदी र हिमतालहरु बढिरहेका छन् । तर, जलवायु परिवर्तनले भविष्यमा पार्ने असरबारे धेरैलाई थाहा भए पनि कमैले यसबारेमा काम गरेका छन् ।

गएको २२ वर्षदेखि पूर्णकुमार शेर्पा (पिके)ले जलवायु परिवर्तनको असरले भविष्यमा पार्ने दीर्घकालिन प्रभावको हिमाली गाउँबस्ती र राज्य सञ्चालकसम्म खबरदार गरिरहेका छन् । सानै उमेरदेखि प्रकृतिप्रेमी शेर्पा विगत २२ वर्षदेखि यही प्रकृतिको संरक्षणमा लागेका छन् । शेर्पामात्रै होइन उनका छोरा सोनाम शेर्पाले पनि बाबुकै पदचाप पछ्याईरहेका छन् ।

बाबु जस्तै गरी सगरमाथा आरोहण गर्ने सोनामको मनमा १० वर्षको उमेरमै आएको थियो । तर, पर्वतारोहण नियमावली अनुसार १६ वर्ष पूरा भएपछि मात्रै सगरमाथा आरोहणको अनुमती पाइन्छ । त्यसैले उनको हिमाल चढ्ने सपना ७ वर्ष पछि सर्यो । झनै कोरोना भाइरसका कारण सन २०२० सिजनमा कुनै हिमाल आरोहणको अनुमती दिइएन । नत्र सोनाम ठ्याक्कै १६ वर्षकै उमेरमा सगरमाथाको आरोहण गर्ने योजना बनाएका थिए । त्यो पनि बाबुकै सपना साकार पार्न अथवा जलवायु परिवर्तन र प्रकृति संरक्षणको जनचेतना फैलाउँदै सगरमाथाको आरोहण गर्ने ।

सगरमाथाको सफल आरोहणपछि अब बाबुछोराको ध्यान ६ वटा महादेशको सबैभन्दा अग्लो हिमाल आरोहण गर्ने तर्फ मोडिएको छ । उनीहरुको योजनानै सातै वटा महादेशको अग्लो हिमाल आरोहण गरेर जलवायु परिवर्तन र प्रकृति संरक्षणको सन्देश विश्वव्यापी रुपमा फैलाउनु रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

कोभिड महामारी र उच्च हिमाली क्षेत्रको मौसम प्रतिकुलताका बाबजुत पनि बाबुछोराले सगरमाथाको शिखरमा २ घण्टा बसेर जलवायु परिवर्तन र प्रकृति संरक्षणको बारेमा सन्देश विश्व व्यापी बुलन्द रुपमा उठाएका छन् । अधिकांश प्रकिृति संरक्षणमा लागेकाहरुको ध्यान अहिले बाबुछोरातर्फ फर्किएको छ । धेरैले त उनीहरुको यो महा अभियानमा साथ र सहयोग पनि गरिरहेका छन् ।

ताप्लेजुङको मैवाखोला स्थायी ठेगाना भई हाल काठमाडौं बस्दै आएका बाबुछोरा बाँचुञ्जेल जलवायु परिवर्तन र प्रकृति संरक्षणको क्षेत्रमा लागिरहने बताएका छन् ।

source-sagarmathaonline