रूपा सुनारको नाममा सामाजिक सञ्जालमा दलितलाई दुत्कार्ने को हुन्?

  • सञ्चार लाइभ प्रकाशित : June 25, 2021
  • रूपबहादुर विश्वकर्मा

काठमाडौंमा ‘कोठा प्रकरण’पछि सामाजिक सञ्जालमा प्रकट भइरहेका प्रतिक्रियाले प्रस्ट पारिरहेका छन्– दलित समुदायप्रति यो समाजलाई कति रिस उठेको रहेछ! कति गाली गर्न मन रहेछ! कति घृणा ओकल्ने इच्छा रहेछ! मौका मात्र मिलिरहेको थिएन। तनहुँकी एउटी ‘कमिनी’ले ‘निहुँ’ खोजेर त्यो सुवर्ण अवसर जुराइदिइन्।

भन्नुस्, अझै के के भन्न मन छ। तपाईंको बुद्धि, विद्या र विवेकले कति भ्याउँछ, भन्नुस्। हामी ‘मान्छे’ भए पो चित्त दुख्नु! त्यही चित्तको पछाडि लाग्दा रूपा सुनारलाई आज उल्टो मुद्दा लाग्ने स्थिति आइसकेको छ। जो मान्छे होइन, उसले मेरो मन दुख्यो, जो मान पाउन लायकको प्राणी नै होइन, उसले मेरो अपमान भयो भनेर न्याय माग्नु नै महाभूल थियो। बरु मन त उनको पो दुख्यो, जसले परापूर्वकालदेखिको परम्परा मान्दा प्रश्न गरियो। अपमान त उनको पो भयो, जसले शताब्दीऔंदेखिको ‘धर्म’ निर्वाह गर्दा ठेस पुर्‍याइयो।

कति मिलेर बसेको समाज छ, को ठूलो, को सानो, को छुत, को अछूत? सबै कुरा– अहिले हो र! उहिलेदेखि कति सिलसिला मिलाएर व्यवस्थित बनाइएको छ। यसैले त हाम्रो ‘फूलबारी’जस्तो ‘सुन्दर’ समाजमा कति राम्रो ‘सामाजिक सदभाव’ छ। यसलाई ‘बिथोल्न’ खोजेपछि रिस उठ्दैन त? ‘सानो’ले ‘ठूलो’को मान खोजेपछि, ‘अछूत’ले ‘छूत’को दर्जा खोजेपछि समाज भाँडिँदैन? अनि यस्ता उच्छृंखल गतिविधि गर्नेलाई गाली नगरेर प्रशंसा गर्न हामीलाई बहुला कुकुरले टोकेको छ र!

झन् हामीले ‘दया’ गरेर पहिलाभन्दा कति ‘छुट’ दिइसक्यौं, यिनीहरू त चढिँदै पो जाँदा रहेछन् है! हेर ‘अछूत’ हो! अर्काेको घरको कोठा पाइनँ भनेर धेरै होहल्ला नगर, ‘माया’ लागेर हाम्रो गाँस काटीकाटी अलिअलि दिन थालिएको ‘कोटा’ पनि खोस्दिन्छौं, अनि थाहा पाउछौ!

सामाजिक सञ्जालमा व्यक्त विचारको सार यही हो।

दलित समुदायप्रति कति रुष्ट भइसकेको रहेछ, हाम्रो समाज! हामीलाई त लागेको थियो– देशमा १० वर्षसम्म त्यत्रो जनयुद्ध भयो। लगत्तै ठूलो जनआन्दोलन–२ भयो। अढाई सय वर्षदेखिको सामन्ती राजतन्त्र अन्त्य भएर गणतन्त्र आयो। मानिसहरू बुझ्ने भए, शिक्षित भए, छुवाछूत गर्नु त अन्धविश्वास र घोर अन्याय पो रहेछ त भन्ने थाहा पाए, अब त यहाँ कसैले कसैलाई भेदभाव गर्‍यो भने अपवादबाहेक सिंगै समाज दलितका पक्षमा उल्टिनेछ। तर अहिले यसको उल्टो पो भइरहेको छ!

दलित ‘भनिने’ले छुवाछूतको नियम तोड्दै गएको, जदौ गरेर कान्लामुनि जानुपर्नेहरू आफू सँगसँगै कुममा कुम मिलाएर अगाडि बढ्दै गएको टुलुटुलु हेरेर बस्नुपर्दा कम्ता मन जलेको रहेछ त!

सामाजिक सञ्जालमा ओइरिएको आक्रोश यही मनोविज्ञानको उपज हो।

हामीलाई भ्रम थियो– युवा पुस्ताले त जातपात मान्दैन। अर्थात् दलितलाई होइन, छुवाछूत गर्नेलाई गाली गर्नेछ।

हामीलाई भ्रम थियो– शिक्षाले जातिवादी सोच हटाउँछ।

तर भन्नुस् त– सामाजिक सञ्जालमा दलितलाई मुखमा आएसम्म शब्द प्रयोग गरेर दुत्कार्नेहरू को हुन्? बूढापाका हुन्? अशिक्षित हुन्?

यसर्थ पुराना पुस्ता सकिएपछि जातीय विभेद र छुवाछूत आफैं अन्त्य हुन्छ भन्नु अम्बाको बोटमा अर्काे वर्ष स्याउ फल्छ भन्नुजस्तै हो। पुस्ता त नयाँ हुन्छ, तर उसको मस्तिष्कमा त्यही पुरानो परम्परा भरिन्छ। अनि कसरी हुन्छ, भेदभाव अन्त्य? यो कुरा ‘कोठा प्रकरण’ले प्रस्ट पारेको छ।

मानवताविरोधी मनोविज्ञान
पूर्वबाट सूर्य उदाएको देख्दा कसैलाई अनौठो लाग्छ त? किनकि जन्मेदेखि सूर्य पूर्वबाटै उदाइरहेको छ। त्यत्तिकै सामान्य र स्वाभाविक लाग्छ– जातीय भेदभाव र छुवाछूत पनि हामीलाई। बरु असामान्य र अस्वाभाविक त तब लाग्छ, जब यसविरुद्ध कसैले आवाज उठाउँछ। जसको ‘प्लास्टर माइन्ड’ले दलितलाई आफू बराबरको ‘मान्छे’ ठान्नै सक्दैन, विचरा ! उसले जाबो ‘कमिनी’लाई कसैले आफ्नो घरको कोठा दिन्नँ भन्दा कुनै गल्ती कसरी देखोस्? बरु जसरी हुन्छ, कोठामा ‘कोटा’ जोडेरै किन नहोस्, अनेक (कु)तर्क गरेर भए पनि जातीय भेदभावलाई जायज ठहर्‍याउनै बल गर्छ।

यो लेख्दै गर्दा फेसबुकमा एक जना मित्रले फ्याट्ट कमेन्ट लेखे– ‘आफ्नो व्यक्तिगत घरमा बस्न दिने/नदिने आफ्नो इच्छाको कुरा हो!’

सरसर्ती हेर्दा कुरा त एकदम ठीक हो। तर त्यही कोठामा अर्काे नाम गरेको जातको मानिसलाई राख्न अति ‘इच्छा’ हुने, ‘कामी’ जातका मानिसलाई राख्नचाहिँ फिटिक्कै ‘इच्छा’ नहुने, किन भएको होला त? यस्तो ‘इच्छा’को निर्माण कसरी भयो त? जातिवादको बन्धकमा परेको हाम्रो दिमागले यतिसम्म सोच्ने ल्याकतै राख्दैन।

कुनै जातकालाई चुलोमै लान मन लाग्ने, कुनै जातिकाले दैलो पनि नटेके हुन्थ्योजस्तो लाग्ने, एकथरीको जुठै खान इच्छा हुने, अर्काथरीले छोएकोसम्म नचल्ने! आखिर यस्तो अनौठो ‘इच्छा’को उत्पत्ति हामीमा कसरी भयो? यस्सो मन्थन गर्ने हो कि?

वास्तवमा त्यही ‘इच्छा’भित्र जातीय विभेदको जरा लुकेको छ। त्यो ‘इच्छा’– मान्छे जन्मले नै सानो–ठूलो, छुत–अछूत हुन्छ भन्ने मानसिकताबाट उत्पन्न भएको हो। अतः यस्तो ‘इच्छा’का पक्षमा वकालत गर्नु अन्ततः जातीय विभेदको प्रतिरक्षा गर्नु हो। त्यस्तो दूषित ‘इच्छा’को अन्त्य नगरीकन जातीय भेदभावको अन्त्य कसरी हुन्छ?

लेखक एवं कवि अभय श्रेष्ठ सामाजिक सञ्जालमा लेख्छन्, ‘नेवारले नेवारबाहेक अरूले गरेको विभेद बेठीक भन्ने, गुरुङले गुरुङबाहेक अरूले गरेको विभेद बेठीक भन्ने, शेर्पा, तामाङ सबैले आफ्ना समुदायबाहेक अरूले गरेको बेठीक भन्ने हो भने त हामीले पनि जात व्यवस्थालाई बकाइदा स्वीकृति दिएको ठहर्छ र हामीलाई यसविरुद्ध बोल्ने नैतिक हक हुँदैन।’

सामाजिक सदभावको परिभाषा
तपाईंलाई लाग्छ, अहिले समाजमा जे जस्तो छ, सब ठीकठाक छ। अर्थात्, सामाजिक सद्भाव छ, शान्ति छ। यस्तो किन लाग्छ भने हाम्रो जातिवादी मानसिकताले दलितविरुद्ध भइरहेको भेदभावलाई भेदभावै देख्न सक्दैन। जातका आधारमा उसविरुद्ध गरिने मानसिक, शारिरीक हिंसा हामीलाई हिंसै लाग्दैन।

माथि नै भनियो– यी सब तपाईंलाई पूर्वबाट सूर्य उदाउनुजत्तिकै सामान्य र स्वाभाविक लाग्छन्। दलितले हृदय छियाछिया पारेर भए पनि छुवाछूत सहिदिएको छ र पो तपाईंको ‘सामाजिक सदभाव’ बाँचेको छ। भित्र मन अशान्त भए पनि तपाईंको अमानवीय व्यवहारलाई पचाइदिएको छ र पो तपाईंको ‘शान्ति’ स्थापना भएको छ। कहिलेकाहीँ सहनै नसकेर कुनै दलितले जब यसविरुद्ध विद्रोह गर्छ, तब तपाई धम्की दिनुहुन्छ–‘सामाजिक सदभाव’ भड्एिकला है!

दलितले अपमान र अत्याचार सहिदिँदा मात्र हाम्रो समाजको सामाजिक सद्भाव कायम रहने हो? सामाजिक सदभाव जोगाउने जिम्मा दलितको मात्रै हो? यसर्थ विद्वान् मित्र हो! सर्वप्रथम सामाजिक सदभावको परिभाषा बदल्ने कि? दोषी चस्मा उतारेर हेर्ने कि? जुन समाजमा वर्षाैंदेखि भेदभाव छ, जहाँ जातकै आधारमा दैनिक दलित अपमानित भइरहेका छन्, कुटिइरहेका छन्, मारिइरहेका छन्, त्यहाँ सामाजिक सदभाव कहिले थियो र छ?

पत्रकार एवं कवि राजु स्याङ्तान भन्छन्, ‘नेपाल कहिल्यै शान्त थिएन, शान्तिको पाठ पढाइरह्यो। नेपाली कहिल्यै वीर थिएन, वीरको पगरी बोकाइरह्यो। समाजमा कहिल्यै सदभाव थिएन, सदभाव खलबलिने डर देखाइरह्यो। अब चर्किएको घर ढले ढलोस्, जात-व्यवस्था उन्मूलन गर्ने युद्ध थाल्नुपर्छ। चर्किएको घरमा थिचिएर मर्नुभन्दा गोली खाएर मर्नु बेस्।’

यसबीच दलित दमनविरुद्ध आवाज उठाउनेलाई ‘एनजीओले उचालेको, पश्चिमाले भड्काएको’ जस्ता आरोप पनि व्यापक मात्रामा लगाइएको छ। योचाहिँ आफ्नो आङको भैंसी नदेख्ने, अर्काको आङको जुम्रो भनेजस्तो हो। आफूजस्तै मान्छे अनि आफ्नै सहधर्मी (हिन्दू धर्मावलम्बी) लाई कुकुरलाई भन्दा तल्लो दर्जा ‘अछूत’को व्यवहार गर्ने, अनि यसलाई ढाकछोप गर्न अरूलाई सराप्ने! यो त फेरि पनि दलितलाई विभेद भइरहेको छ भन्ने कुरा हाम्रो दिमागले स्वीकार गर्न नसकिरहेको अर्काे प्रमाण हो। कसैले उचाल्ने र भड्काउने ठाउँ नै नदिनुस् त, कसले किन उचाल्दोरहेछ, भड्काउँदो रहेछ!

लेखक डम्बर खतिवडा सामाजिक सञ्जालमा लेख्छन्, ‘जातीय विभेद सकिएको थियो, क्रान्तीकारी र एनजीओले कोट्याएर निकाले, पश्चिमाले सामाजिक सदभाव भाड्न यस्तो गर्‍या हुन्, आरक्षणले विभेद झनै बढाउँछ’ जस्ता कुतर्क अज्ञानताबाट मात्र हैन, ‘प्रायोजित रूढिवादी अभियान’बाट आएका हुन्। विभेद सकिएको भए समुदायले फिल गर्नुपरो, अरूले अर्ती उपदेश दिने हैन।’

जब तपाईंलाई दलित ‘चढिएको’ लाग्छ नि, बुझ्नुस्, तपाईं जातिवादी मानसिक रोगले ग्रस्त हुनुहुन्छ। नत्र एउटा मान्छेले मान्छेको मान पाऊँ भन्दा कसरी चढिएको हुन्छ? ‘चढिएको’ त त्यतिबेला हुन्छ, जतिबेला ऊ तलै हुनुपर्छ भन्ने तपाईंलाई लागिरहेको छ।

कोटाको कुरा
कोठा प्रकरणसँगै अहिले तपाईंहरूले ‘कोटा’ अर्थात् आरक्षणको हल्ला मच्चाउनुभएको छ। सबैभन्दा बढी जातीय आरक्षण कसले पाइरहेको छ? हाम्रा शिक्षामन्त्रीले देखाइसक्नुभएको छ (जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दामा अनुसन्धान भइरहेकै बीच घरबेटीलाई थुनामुक्त गराई आफ्नै सरकारी गाडीमा राखेर घर पुर्‍याइदिए)। त्यस्तो आरक्षण यो मुलुकका कुनै दलितले पाउन सक्ला?

अर्कातर्फ दलितले पाइरहेको नगण्य आरक्षणविरुद्ध कोकोहोलो मच्चाउनु भनेको तपाईंमा विश्वभर चलेको सामाजिक न्यायको सिद्धान्तबारे सामान्य ज्ञान पनि नहुनु हो। जसलाई हिजो कानुन बनाई बनाई राज्यले नै शिक्षा–सम्पत्तिलगायत आर्जनबाट वर्षाैं वञ्चित गर्‍यो, आज उसलाई त्यसको क्षतिपूर्तिस्वरूप विशेष-अधिकार, जसलाई आरक्षण पनि भनिन्छ, दिएर राष्ट्रिय स्तरमा अन्य नागरिकको तह बराबर ल्याउनु उसको दायित्त्व हुन्छ। जसरी महिला, मधेसी, जनजाति, अपांगता भएका, पिछडिएका क्षेत्रका लागि राज्यले व्यवस्था गरेको छ।

फेरि यो कसैको निजी सम्पत्तिबाट छुट्याउने पनि होइन। अर्काे कुरा, हिजो दलितले पढ्नै नपाएजस्तो आज तपाईंलाई एउटै सिट नदिएर भएभरका सप्पै ‘कोटा’ दलितलाई दिइएको पनि छैन। किन आत्तिनु हुन्छ? फेरि यो सधैंका लागि पनि होइन, जबसम्म विभेदको खाडल पुरिँदैन, तबसमम्म अर्थात् निश्चित अवधिका लागि मात्र लागू हुने हो। यत्ति त ज्ञान राख्नुपर्छ है मित्र हो।

अर्काे कुरा, यहाँहरूलाई दलितप्रति धेरै रिस उठ्नाको कारण दलित कसरी दलित भए, जातीय विभेद र छुवाछूत कहिले, कसरी सुरु भयो भन्नेबारे फिटिक्कै ज्ञान नभएर पनि हुन सक्छ। यसैले एकपटक यसको इतिहाससम्बन्धी पुस्तक खोजी–खोजी पढौं। यहाँको आक्रोश कम हुन्थ्यो कि?

लेखक राजेश राई भन्छन्, ‘एउटा तर्क देखिन्छ, ‘जातकै कारण ‘कोठा’ र ‘कोटा’बाट वञ्चित भइयो।’ ‘कोठा’ र ‘कोटा’लाई जबर्जस्त जोडिएको छ। समाजको ऐतिहासिक समस्या र समाज विकासक्रमका आयमहरूको बारेमा छिपछिपे ज्ञानको कारण यसो भनेका हुन् भने दया गरौं। तर बुझेर भनेका हुन् भने कठै भनौं!’ nepalkhabar