अभिभावक नै शिक्षक, अभिभावक नै साथी !

  • सञ्चार लाइभ प्रकाशित : June 28, 2021
  • SancharLive

कोरोना भाइरसको बढ्दो महामारीका कारण अहिले लाखौँ विद्यार्थी घरभित्रै थुनिएका छन् । पहिला सिकाइका लागि विद्यार्थीहरूलाई स्कुल पठाइन्थ्यो । शिक्षकबाट उनीहरूले धेरै कुरा सिक्थे ।

तर अहिले बालबालिका स्कुल जान पाएका छैनन् । आफ्ना साथीभाइसँग भेट्न पाएका छैनन् । कक्षाकोठामा बसेर पढ्न पाएका छैनन् ।

उनीहरू घरमा भएकाले अभिभावकलाई अझ धेरै जिम्मेवारी थपिएको छ । यो महामारीको समयमा अभिभावक नै शिक्षक बन्नुपरेको अवस्था छ । अभिभावक नै साथी बन्नुपरेको छ ।

अहिलेको परिस्थितिमा अभिभावक कसरी शिक्षक बन्ने ? यस विषयमा हामीले शिक्षसँग सरोकार राख्ने व्यक्तिहरूसँग बुझ्ने प्रयास गरेका छौँ ।

तोयानारायण पौडेल
शिक्षाविद्/ प्रिन्सिपल– हिमालयन ह्वाइट हाउस कलेज 

विद्यार्थीको उमेर भनेको अत्यधिक ऊर्जावान् उमेर हो । उनीहरू घरबाहिर ननिस्किए पनि केही न केही गर्न रुचाइरहेकै हुन्छन् । त्यस्तो समयमा उनीहरूलाई सामाजिक र मनोवैज्ञानिक साथ र सल्लाहको आवश्यकता भइरहन्छ ।

साथीसँग खेल्न बानी लागेका बच्चा घरमा थुनिएर बस्नुपर्दा उनीहरूलाई मनोवैज्ञानिक असर पर्न सक्छ । महामारीले गर्दा धेरै अभिभावक रोजगारी गुमाएको कारण तनावमा छन् ।

यस्तो समयमा बच्चाहरूको हेरचाह गरिरहेका हुँदैनन् । तर, जस्तोसुकै महामारी आए पनि अभिभावकले सबैभन्दा पहिलो प्राथमिकता बालबालिको शिक्षा, खानपान र सुरक्षालाई दिनुपर्छ ।

तालिका बनाएर बच्चाको हेरचाह

लामो समय घरभित्रै बस्दा जतिबेला पनि मोबाइल, कम्प्युटर जस्ता इलोक्ट्रोनिक साधनमा मात्र भन्दा पनि बच्चाहरूलाई घरपरिवारसँग घुलमिल हुन सिकाउनुपर्ने हुन्छ ।

बच्चाहरूलाई परिवारका हरेक क्रियाकलापमा सामेल गराउनुपर्छ । आजभोलि अभिभावक आफैँ पनि घरपरिवारसँग भन्दा पनि सामाजिक सञ्जालमा व्यस्त भएको पाइन्छ । यसले गर्दा बच्चाहरूप्रति अभिभावकको चासो कम हुँदै गएको छ ।

बच्चाहरूको मनोभाव नै नबुझी अभिभावक उनीहरूसँग रिसाउने गरेको देखिन्छ । रिसले रिस बढ्छ । तनावले तनाव । अभिभावकले बालबालिकालाई केही सिकाउनुपहिले आफैँलाई व्यवस्थापन गर्नुपर्छ । आफ्नो तालिका बनाउनुपर्छ ।

कुन समय बच्चालाई दिने, कुन समय मोबाइल चलाउने, कुन समय घरको काम गर्ने भनेर छुट्याउनुपर्ने हुन्छ ।

उमेर अनुसार व्यवहार

बालबालिकाको बानीमा उमेरले निकै फरक पार्छ । सबै उमेरका बालबालिकालाई त्यही अनुसारको व्यवहार गर्नुपर्छ । किशोरकिशोरीले गर्ने व्यवहार अभिभावकले धैर्यतापूर्वक नियाल्नुपर्छ । १२ वर्षभन्दा मुनिका बच्चाहरूले अभिभावक वा आफूभन्दा ठूलाबाट माया र प्रशंसा गरून् भने चाहन्छन् । उनीहरूलाई पनि त्यहीअनुसार व्यवहार गर्नुपर्छ ।

आदेश दिनुहुँदैन 

अभिभावकले शिक्षकसँग सहकार्य गरेर कसरी सिकाउन सकिन्छ भनेर सल्लाह लिन सक्छन् । पढाइ मात्र नभएर दैनिक जीवनमा काम लाग्ने कुराहरू पनि सिकाउन सकिन्छ । घरायसी कामहरूमा उनीहरूलाई सामेल गराउन सकिन्छ ।

उनीहरूलाई लुगा धुने, पट्याउने, खाना पकाउने जस्ता काममा लगाउन सकिन्छ । उनीहरूलाई यस्ता काम गराउँदा तिमी यो गर, त्यो गर भनेर आदेश दिने होइन, हामी गरौँ भनेर सँगै सिकाउँदै काम गराउनुपर्छ ।

अनिल पण्डित
प्रिन्सिपल– ब्रह्मकुञ्ज शिक्षा सदन

अहिले अधिकांश अभिभावक बच्चाले पढ्न मान्दैन, असल बन्न सकेन, हामीले भनेको मान्दैन जस्ता गुनासो गरिरहन्छन् ।

अभिभावक शिक्षक बन्दा धेरै फाइदा छन् । आफ्ना छोराछोरीको नराम्रो व्यवहार चिनेर परिवर्तन गर्न सकिन्छ । उनीहरूको चाहनालाई बुझ्न सकिन्छ । त्यसका लागि अभिभावकले उनीहरूसँग कुराकानी गर्नुपर्छ ।

उनका अनुसार अहिले लकडाउनको समय उनीहरूलाई चिन्ने, उनीहरूको कमजोर र बलियो पक्षको बारेमा थाहा पाउने राम्रो अवसर हो ।

अहिले धेरै विद्यार्थी अनलाइन कक्षाबाहेक पनि मोबाइल, कम्प्युटर अत्यधिक समय बिताइरहेका छन् । त्यसको सट्टामा अभिभावकले घरमै बसेर बालबालिकालाई उनीहरूको उमेर समूहअनुसार किताब पढाउने, घरभित्रै खेल्ने गेमहरूमा बिजी बनाउने गर्न सक्छन् ।

किताब पढ्न नसक्ने खालका बालबालिकालाई अभिभावक आफैँले पढेर सुनाइदिन सक्छन् । अभिभावकले बालबालिकाको इन्टे«स्ट बुझेर उनीहरूलाई कुनै सीप सिकाउन सक्छन् ।

अहिलेको अवस्थामा अनलाइन क्लासमा अभिभावक पनि विद्यार्थीसँगै बस्नुभन्दा अभिभावक समय हुँदैन भन्छन् । तर, उनीहरूलाई सामाजिक सञ्जालमा समय बितेको पत्तै हुँदैन । त्यसैले अभिभावकले आफ्ना बालबालिकाका लागि समय छैन भन्ने कुरालाई पहिला दिमागबाट हटाउनुपर्छ ।

बच्चाले आफ्नो समय अनुकूल पढिदेऊन् भन्ने अभिभावक चाहन्छन् । तर, बच्चाको मन छ/छैन उनीहरूलाई पत्तै हुँदैन । त्यसैले पनि धेरै बालबालिका घरमा बसेर सिक्न सकिरहेका छैनन् ।

बालबालिकालाई अभिभावकले आफ्नो अनुकूलभन्दा पनि उनीहरूको अनुकूलता ध्यानमा राखेर तालिका बनाइदिनुपर्छ । अभिभावकले पढाउने होइन, पढ्ने वातावरण बनाइदिने, पढ्न उत्प्रेरित गर्ने र संस्कार सिकाउने हो ।

बालबालिकाले नजानेका कुरा सकेसम्म उनीहरूसँग मिलेर आफूले खोज्ने हो । त्यसो गर्दा उनीहरूलाई अर्कोपल्ट सोध्नुपर्दैन ।

अहिलेको अवस्थामा बालबालिका टिकटक, म्यासेन्जर कसरी चलाउने भन्ने विषयमा पोख्त छन् । तर, उनीहरूलाई गुगल कसरी चलाउने, नजानेका कुरा कसरी गुगल, युटुबमा खोज्ने जस्ता कुरा थाहा छैन । अहिले बालबालिकालाई सिकाउन अभिभावकको ठूलो भूमिका रहन्छ । यस्ता कुरामा अभिभावकले ध्यान दिनुपर्छ ।

घरमा केही निर्णय लिँदा बालबालिकालाई सहभागी गराउनुपर्छ । उनीहरूका पनि विचार राख्नुपर्छ । यसले उनीहरूको आत्मविश्वास बढ्छ । निडर हुन्छन् । उनीहरूले गल्ती गरेको बेलामा मात्र सरी भन्न लगाउने होइन । अभिभावकले गल्ती गर्दा पनि सरी भन्ने बानी बसाल्नुपर्छ ।

असल छोराछोरी खोज्ने अभिभावकले आफू पनि असल अभिभावक बन्नुपर्छ । असल शिक्षक र असल साथी बन्नुपर्छ ।