सहकर्मीलाई चुम्बन गरेर विवादमा मुछिएका बेलायती मन्त्रीले दिए राजीनामा

  • सञ्चार लाइभ प्रकाशित : June 28, 2021
  • SancharLive

बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारंपछि स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।

‘द सन’ पत्रिकाले तीन सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेको थियो । त्यसपछि विवादमा आएका ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो । उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ ।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले ’जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने’ उल्लेख गरेका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू ‘दुःखी’ भएको बताएका छन् । कयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेका बेलायती समाचार माध्यममा आएको छ ।