बजेट पास गरेर जोत्न थालिन् उपमेयर रिता चौधरी -भिडियोसहित ।

  • सञ्चार लाइभ प्रकाशित : June 28, 2021
  • SancharLive

धेरै जनप्रतिनिधि र कर्मचारीलाई असारे बजेट सक्ने चटारो छ । तर उदयपुरको चौदन्डीगढी नगरपालिका उप प्रमुख रीता चौधरीलाई भने खेती गर्ने हतारो छ । नगर परिषदबाट ७६ करोड ७४ लाखको बजेट पारित गरेपछि उनी ढुक्क भएर खेती गर्न तम्सिएकी छन् । आजकल २२ हर्सपावरको टेलर चलाएर खेती जोत्दैछिन् ।

३५ वर्षीय उपमेयर चौधरी भन्छिन्, ‘खेती किसानी नगरी कसरी खान पुग्छ ! आफ्नो काम आफैले गर्ने हो । अहिले परिषदबाट आगामी वर्षको बजेट तथा नीति पारित भएपछि काम केही होलो भएको छ । त्यसैले हलो जोत्न थालेकी हुँ ।’ जनप्रतिनिधि,त्यसमा पनि नगरपालिकाको उप मेयरसँगै आउने दायित्व न्याय सम्पादन, योजनाहरुको अनुगमन र फरफारकबाट बचेको समयमा श्रीमान् अनुज चौधरीलाई सघाउन अघि सरेकी हुन् । उनको चौदन्डीगढी नगरपालिका ९ हडिया बकैना चौरीमा एक बिगाहा खेत छ । यो खेत जोत्न एक हल गोरुलाई हप्ता दिनभन्दा बढी समय लाग्थ्यो । तर पावर टेलर भएपछि पालैपालो श्रीमान श्रीमती चौधरीले चलाउन थालेका छन् ।

श्रीमान यतिखेर स्वस्थानी कृषक समूहमा आवद्ध छन् । समूहले २२ हर्स पावर टेलर खेतमा जोतेर यान्त्रिकीकरणको प्रक्रियालाई अघि बढाएको छ । सो समूहका अन्य किसानहरुले पनि गोरुले नारेर हिलो खेल्न बाध्य हुनु पर्ने अवस्थाबाट मुक्ति पाएका छन् । किसानहरुले पालैपालो सो पावर टेलरले खेत जोत्ने छन् । यस्तो बेला फुर्सद पाए अरुको खेत जोतेर पर्म गर्न पछि नसर्ने उपमेयर चौधरी बताउँछिन् । उनले अघि भनिन् ,‘राजनीति एउटा ठाउँमा छ । तर काम नगरी खान पुग्दैन । मैले कामलाई पहिलो प्राथमिकतामा राख्छु । र,म कृषक परिवार भएकोले पहिले हलो जोत्थेँ, अहिले पावर टेलर जोत्छु ।’ जनप्रतिनिधि हुनेबित्तिक्कै जीवन शैलीमा आम परिवर्तन गर्ने र भ्रष्टाचारको आहालमा डुबेर आफ्नो धरातल बिर्सनेहरुमाझ उपप्रमुख चौधरी हलो जोत्न रमाउनु कम चानचुने कुरा हो र !

janaaastha