बिलौना

  • सञ्चार लाइभ प्रकाशित : July 2, 2021
  • रमला पौडेल
कतै भासमा गाडियो जिन्दगानी
कतै तासमा नारियो जिन्दगानी
निराशा चपाएर लादी बनाई
सधैँ आसमा पर्खियो जिन्दगानी
डुबे घाम राता भयो रात कालो
त्यही रातमै देख्न थालेँ उज्यालो
कुरेकै छु होला सुनौलो बिहानी
सधैँ आसमै पर्खियो जिन्दगानी
उकालो चढी टापुमा बास थियो
तलै चिप्लिएँ लेउको रास थियो
जुरुक्कै उठेँ तन्किएँ सास धानी
सधैँ आसमै पर्खियो जिन्दगानी
भिरालो छ बाटो डिलैमा छ खुट्टो
न टेक्ने छ लौरी न क्यै झाँङ बुट्टो
सुकेको छ घाँटी बगेको छ पानी
सधैँ आसमा पर्खियो जिन्दगानी
यता बारुला भुन्भुनाई रहेछन्
उता सर्प बिच्छीहरू मार्गमा छन्
र जालान् दुलामा नगर्ने रिसानी
भनी आसमै पर्खियो जिन्दगानी
नगाअौँ निकम्मा विना स्वाद गाना
म लेखूँ नलेखूँ वियोगी छ पाना
यिनै सोचले निख्रिएको जवानी
झिना आसमै पर्खियो जिन्दगानी
       -रमला पौडेल/लिखु-९ पोकली-ओखलढुंगा