प्रेरक व्यक्तित्व : सधैँ विद्यार्थी मान्ने भौतिकशास्त्री

  • सञ्चार लाइभ प्रकाशित : July 5, 2021
  • SancharLive

बीसौँ शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको नाम नसुन्ने सायदै कोही हुनुपर्छ संसारमा । खासगरी थ्यौरिटीकल भौतिकशास्त्री थिए उनी । भौतिकीलाई सरल बनाउन ठूलो योगदान छ उनको । पूरा नाम अल्बर्ट हेर्मन्न आइन्स्टाइन भए पनि आइन्स्टाइन नामले बढी चिनिन्छन् । १४ मार्च १८७९ मा जर्मनीमा जन्मेका यी सफल भौतिकशास्त्रीको बाबुको नाम हेर्मन्न आइन्स्टाइन र आमाको नाम पौलिन कोच थियो । जर्मनको उल्म सहरमा जन्मेर म्युनिच सहरमा हुर्केका हुन् उनी । पढाइ पनि यहीँबाट सुरू भएको थियो उनको ।

सानामा उनी पढाइमा निकै कमजोर थिए । शिक्षकहरूले मानसिकरूपले अस्वस्थ विद्यार्थी भन्न पनि बाँकी राखेका थिएनन् । नौ वर्षसम्म बोल्नसम्म राम्ररी जान्दैन थिए रे । एकोहोरो र एकान्त प्रेमी तर प्रकृतिप्रति भने निकै आकर्षित हुने गर्थे । सारङ्गी उनको मन पर्ने बाजा हो । यसलाई बजाउन ६ वर्षकै उमेरमा सिकेका थिए, जसलाई जिन्दगीभर बजाइरहे । अलिकति फुर्सद हुने बित्तिकै ¥याईँ¥याईँ रेटिरहेका हुन्थे ।

उनको सेकेन्डरी पढाइ सोह्र वर्षको उमेरमा पूरा भएको थियो तर पढाइको परम्परागत शैलीप्रति कत्ति सन्तुष्ट थिएनन् । पढाइ स्वतस्फूर्त प्रयोगात्मक हुनुपर्छ भन्ने उनको मान्यता थियो । सेकेन्डरी पढाइपछि स्वीट्जरल्याण्डको ज्यूरिच फेडरल इन्स्टिच्यूट अफ टेक्नोलोजीमा भर्ना हुन खोजेका थिए तर प्रवेश परीक्षामै असफल भएकाले तत्काल त्यो ईच्छा पूरा हुन सकेन । त्यसपछि शिक्षकहरूका सल्लाह अनुसार त्यहीँका अर्को स्कुलबाट डिम्लोमा गरे । त्यसपछि भने सजिलै फेडरल इन्स्टिच्युटमा भर्ना पाए र यहीँबाट सन् १९०० सयमा डिग्री पूरा गरे ।

डिग्री गरेपछि पनि नोकरी निम्ति कडा मिहिनेट गर्नुप¥यो उनलाई । फेडरल इन्स्टिच्युटमै पढाउन चाहन्थे उनी तर अध्यापकहरू उनको व्यवहारबाट पहिल्यैदेखि नै सन्तुष्ट थिएनन् । त्यसैले यहाँ पनि उनको चाहना अधूरै रह्यो । कडा मिहिनेतको बाबजुद सन् १९०९ मा गएर बल्ल बर्न विश्वविद्यालयमा जागिर पाए । त्यहाँ केही समय काम गरेपछि ज्यूरिच विश्वविद्यालयमा सहायक प्राध्यापकको जागिर पाएका थिए । त्यहाँ पनि धेरै दिन बसेनन् । दुई वर्षपछि नै प्राग सहरमा अवस्थित जर्मन विश्वविद्यालयमा प्राध्यापक बनेर गए । त्यहाँ पनि धेरै दिन बसेनन् । छ महिना जतिमै फेडरल इन्स्टिच्यूटमा प्राध्यापक बन्न पुगे ।

हरेक कुराको समय हुँदोरहेछ सायद । समय आएपछि कर्मयोगीलाई भाग्य आफैँ खोज्दै आउँदो रहेछ क्यारे । उनको जीवनमा त्यस्तै भएको छ । सन्  १९१३ मा विश्व प्रशिद्ध वैज्ञानिक द्वय म्याक्स प्लक र वाल्थेर नेन्स्र्ट ज्युरिच आएपछि उनलाई भाग्योदय चिट्टा प¥यो । उनीहरूका सिफारिसमा बर्लिन विश्वविद्यालयमा अनुसन्धान प्राध्यापकको जागिर पाए । यसले उनको जीवनलाई अर्कै मोड दियो । एकपछि अर्को गर्दै सफलता पाउँदै गए । पुरस्कारको चाङ लाग्न थाल्यो । सन् १९२१ मा भौतिक शास्त्रको नोबेल पुरस्कारसमेत पाएका थिए । उनका आविस्कार अनेक किसिमका छन् । तिनमा केही यस्ता छन्, जसलाई इतिहासले कहिल्यै भुल्न सक्ने छैन ।

सादा जीवन, उच्च विचारका हिमायती थिए उनी । त्यति ठूलो वैज्ञानिक भएर पनि उनको एउटा सामान्य गाडीसम्म निजी थिएन । कतै जानुपर्दा सार्वजनिक यातायतकै साधन प्रयोग गर्थे । समय निकै कम भएकाले केही गर्ने भए तत्कालै गर्नुपर्छ भन्ने यी वैज्ञानिकका सफलताको कडी भनेकै निरन्तर अध्ययन र अनुसन्धान हो । उनले अभ्यासलाई नै सफलताको मूल मन्त्र बनाएका थिए । राष्ट्रपति बन्न आएको प्रस्तावलाई समेत अस्वीकार गरी अध्ययन र अनुसन्धानलाई रुचाए र आजीवन त्यसैमा लागिरहे । जति नै माथि पुगे पनि र भौतिक शास्त्रमा जति नै ठूलो सफलता मिलेको भए पनि आफूलाई विज्ञानको सामान्य विद्यार्थी ठान्थे, सामान्य विद्यार्थी नै भएर रहे ।

एकपटक उनी सार्वजनिक साधनमा कतै जाँदै थिए । बीचतिरबाट एउटी युवती चडिन् । उनले आफ्नो अगाडिको खाली सीटमा बस्न आग्रह गरे ती युवतीलाई । युवतीले उनलाई चिनेकी थिइनन् । युवती सुटेस बुटेस थिइन्, उनी साधारण । बाटो काट्ने क्रममा आइन्स्टाइनलाई सोधिन्–

‘कहाँ, के काम गर्दैहुनुहन्छ ?’

उनले सहजभावमा उत्तर दिए–

‘फिजिक्सको विद्यार्थी हुँ, त्यसैको पढाइ गर्दै छु ।’

युवतीले शिरदेखि पाउसम्म हेरिन् र आश्चर्य मान्दै भनिन्–

‘अहिलेसम्म पनि विद्यार्थी नै हुनुहुन्छ ? कपाल फुलिसक्यो, छाला चाउरिसक्यो अझै पढ्दै हुनुहुन्छ भने काम कहिले गर्नुहुन्छ ? यो उमेरमा पढेर के गरौँला भन्ने सोच्नुभएको छ ?’

‘युवतीको कुरा सुनेर आइन्स्टाइनले मुस्कुराउँदै भने–

‘त्यो त थाहा छैन । हेर्दै जाउँ के हुन्छ । सकिएछ भने केही गरिएला । होइन भने त के भयो र ।’

यो एउटा उदाहरण हो उनको विशेषताको । वास्तवमा उनी थिए नै यस्तै । न तडकभडक, न धाक रबाब । सधैँ विद्यार्थी, सधैँ पढाइ, सधैँ अनुसन्धान ।

जर्मनीमा हिटलरको तानाशाह चल्न थालेपछि उनी अमेरिकाको न्यूजर्सीमा बस्न लागे । उनी यहुदी थिए । यहुदी भएकै कारण हिटरलको शासनले उनलाई देश निकाला गरेको थियो । अमेरिका आएपछि पनि उनले अध्यापनको काम जारी नै राखे । त्यहीँको कलेजमा पढाएर अनुसन्धानको कामलाई अघि बढाई नै रहे । सन् १९५५ मा त्यहीँ नै उनको मृत्यु भयो । भनिन्छ, मृत्युपछि उनको दिमागलाई कुनै वैज्ञानिकले चोरेर लगेका थिए, जसलाई २० वर्षसम्म जारमा बन्द गरेर राखे ।

मानिस आफैँमा कसैका लागि पनि प्रिय र अप्रिय हुँदैन । उसले गरेको काम नै प्रिय र अप्रिय हुने हो । यी महान् भौतिकशास्त्रीको भौतिक शरीर त हाल हामीमाझ छैन तर उनको यश र कीर्तिलाई भने दुनियाँले अहिलेसम्म पनि बिर्सेका छैनन् र सम्भवतः कहिल्यै बिर्सने छैनन् ।ratopati