तालिबान आखिर को हो ? थाहा पाऔं यो समूहबारे सबै जानकारी

  • सञ्चार लाइभ प्रकाशित : August 16, 2021
  • SancharLive

अफगानिस्तानमा अमेरिकी नेतृत्व भएको सेनाले तालिबानलाई सन् २००१ मा सत्ताबाट गलहत्याएको थियो ।

तर यो समूहले क्रमशः आफूलाई बलियो बनाउँदै गयो र अब एक पटक पुनः यसले लगभग पूरा अफगानिस्तानमाथि कब्जा जमाएको छ ।
करिब दुई दशकपछि अमेरिका ११ सेप्टेम्बर २०२१ सम्म अफगानिस्तानबाट आफ्ना सबै सैनिकलाई हटाउने तयारी गरिरहेको छ ।

दोहा सम्झौताः

तालिबानले अमेरिकासँग सन् २०१८ मा कुराकानी सुरु गरेको थियो ।

फेब्रुअरी सन् २०२० मा दोहामा दुबै पक्षबीच सम्झौता भयो जहाँ अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक हटाउने प्रतिबद्धता जतायो र तालिबान अमेरिकी सैनिकमाथि हमला बन्द गर्नका लागि तयार भयो ।

सम्झौतामा तालिबानले आफ्नो नियन्त्रण भएको इलाकामा अल कायदा र अन्य चरमपन्थी संगठनको प्रवेशमाथि रोक लगाउने कुरा पनि गर्यो र राष्ट्रिय स्तरको शान्ति वार्तामा समावेश हुने विश्वास पनि दिलाएको थियो ।

तर सम्झौता गरेको अर्को वर्ष नै तालिबानले अफगानिस्तानका सर्वसाधारण र सुरक्षाबललाई निशाना बनाउन जारी राख्यो ।

अब जब अमेरिकी सैनिक अफगानिस्तानबाट बिदा हुन तयारी गरिरहेका छन्, तालिबान अफगानिस्तानमा हावी भएका छन् ।

कहिले भएको थियो तालिबानको सुरुवात ?

पश्तो लवजमा विद्यार्थीलाई तालिबान भनिन्छ । नब्बेको दशकको सुरुवातमा जब सोभियत संघ अफगानिस्तानबाट आफ्नो सैनिकलाई फिर्ता बोलाइरहेको थियो, त्यतिबेला तालिबानको उदय भएको थियो ।

पश्तो आन्दोलन सुरुमा धार्मिक मदरसाबाट सुरु भएको र यसका लागि साउदी अरबले वित्त पोषण गरेको मान्यता राखिन्छ । यो आन्दोलनमा सुन्नी इस्लामको कट्टर मान्यताको प्रचार गरिन्थ्यो ।

चाँडै नै तालिबानी अफगानिस्तान र पाकिस्तानबीच फैलिएको पश्तून इलाकामा शान्ति र सुरक्षाको स्थापनाका साथै शरिया कानूनको कट्टरपन्थी संस्करणलाई लागू गर्ने बचन गर्न थालेका थिए ।

यतिबेला दक्षिण पश्चिम अफगानिूतानमा तालिबानको प्रभाव तीब्र रुपमा बढ्यो । सेप्टेम्बर सन् १९९५ मा उनीहरुले इरानको सीमासँग जोडिएको हेरात प्रान्तमाथि कब्जा गर्यो । यसको ठिक एक वर्षपछि तालिबानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमायो ।

अफगानिस्तानमाथि तालिबानको नियन्त्रणः

त्यतिबेला उनीहरुले अफगानिस्तानका राष्ट्रपति बुरहानुद्दीन रब्बानीलाई सत्ताबाट हटाएका थिए । रब्बानी सोभियत सैनिकको अतिक्रमणको विरोध गर्ने अफगान मुजाहिदीनको संस्थापक सदस्यमध्ये थिए ।

सन् १९९८ आउँदा आउँदै करिब ९० प्रतिशत अफगानिस्तानमाथि तालिबानको नियन्त्रण भएको थियो ।

सोभियत सैनिक गएपछि अफगानिस्तानका सर्वसाधारण मुजाहिदीनको ज्यादती र आपसी संघर्षसँग आजित भएका थिए त्यसैले सुरु सुरु तालिबानको स्वागत गरियो ।

भ्रष्टाचारमाथि अंकुश, अराजकताको स्थितिमा सुधार, सडकको निर्माण र नियन्त्रण भएको इलाकामा कारोबारी ढाँचा र सुविधा प्रदान गराउनु – यी कामका कारण सुरुवातमा तालिबानी लोकप्रिय पनि भए ।

तर यतिबेला तालिबानले सजाय दिनका लागि इस्लामिक तौर तरिका लागू गरे जसमा हत्या र व्याभिचारका दोषीलाई सार्वजनिक रुपमा फाँसी दिने र चोरीको मामिलामा दोषीलाई अंगभंग गरिदिनेजस्ता सजायँ समावेश थिए ।

पुरुषका लागि दाह्री र महिलाका लागि पूरा शरीर ढाक्ने बुर्काको प्रयोग अनिवार्य गरियो । तालिबानले टेलिभिजन, संगीत र सिनेमामाथि प्रतिबन्ध लगाइदिए र १० वर्ष र सोभन्दा बढी उमेरका किशोरीहरुलाई स्कूल जान रोक लगाइयो ।

तालिबान सरकारलाई मान्यता दिने देशः

तालिबानमाथि मानवाधिकार उल्लंघन र सांस्कृतिक दुर्व्यवहारसँग जोडिएका थुप्रै लगाउने सुरु भएको थियो ।

यसको एक बदनामीयुक्त उदाहरण सन् २००१ मा त्यतिबेला देख्न पाइयो जब तालिबानले अन्तर्राष्ट्रिय स्तरमा विरोधपछि पनि मध्य अफगानिस्तानको बामियानमा बुद्धको प्रतिमा नष्ट गरियो ।

तालिबानलाई बनाउन र बलियो बनाएको आरोपबाट पाकिस्तान लगातार अस्वीकार गरिरहन्छ तर सुरुमा तालिबानी आन्दोलनसँग सम्बन्धित मानिसहरु पाकिस्तानको मदरसाबाट निस्किएको कुरामा कुनै शंका छैन ।

अफगानिस्तानमा जब तालिबानको नियन्त्रण थियो तब पाकिस्तान संसारको ती तीन देशमा समावेश थियो जसले तालिबान सरकारलाई मान्यता दिएको थियो । पाकिस्तानबाहेक साउदी अरब र संयुक्त अरब इमिरेट्सले पनि तालिबान सरकारलाई स्वीकार गरेको थियो ।

तालिबानको निशानामा मलाला युसुफजाईः

तालिबानले आफ्नो कूटनीतिक सम्बन्ध तोड्ने देशमा पनि पाकिस्तान सबैभन्दा अन्तिम देश रह्यो ।

एक समय यस्तो पनि आयो जब तालिबानले उत्तर पश्चिममा आफ्नो नियन्त्रण भएको इलाकाबाट पाकिस्तानलाई अस्थीर गराइदिने धम्की पनि दियो ।

यति नै बेला तालिबानी चरमपन्थीले अक्टोबर सन् २०१२ मा मिंगोरा नगरमा आफ्नो स्कूलबाट घर फर्किरहेकी मलाल युसुफजाईमाथि गोली हानेको थियो । तालिबानी शासनको अत्याचारमाथि छद्म नामबाट लेखेका कारण १४ वर्षकी मलालासँग तालिबानी रुष्ट थिए । उक्त घटनामा मलाला नराम्रोसँग घाइते भएकी थिइन् । त्यतिबेला पाकिस्तानमा नभई अन्तर्राष्ट्रिय स्तरमा पनि यो घटनाको निन्दा भएको थियो ।

यो घटनाको दुई वर्ष पछि तालिबानी चरमपन्थीले पेशावरको एक स्कूलमा हमला गरेको थियो, त्यसपछि पाकिस्तानमा तालिबानको प्रभाव निकै कम भयो ।

सन् २०१३ मा अमेरिकी ड्रोन हमलामा तालिबानका पाकिस्तानमा कमान सम्हालिरहेका हकीमूल्ला मेहसूदसहित तीन महत्वपूर्ण नेताको मृत्यु भयो ।

अल कायदाको इलाकाः

११ सेप्टेम्बर सन् २००१ मा न्यूयोर्क वर्ल्ड ट्रेड सेन्टरमा भएको हमलापछि संसारभरीको ध्यान तालिबानमा गयो । हमलाका मुख्य संदिग्ध ओसामा बिन लादेन र अल कायदाका लडाकूलाई शरण दिएको आरोप तालिबानमाथि लाग्यो ।

सात अक्टोबर सन् २००१ मा अमेरिकाको नेतृत्वमा सैन्य गठबन्धनले अफगानिस्तानमा हमला गर्यो र डिसेम्बरको पहिलो हप्तामा तालिबानको शासन समाप्त भयो ।

संसारको सबैभन्दा ठूलो खोजी अभियानपछि ओसामा बिन लादेन र तत्कालीन तालिबानी प्रमुख मुल्ला मोहम्मद उमर र उनका अन्य साथी अफगानिस्तानबाट निस्कन सफल रहे ।

पाकिस्तान गुटका थुप्रै मानिसहरुले पाकिस्तानको क्वेटा शहरमा शरण लिए र उनीहरुले त्यहाँबाट मानिसहरुलाई निर्देशित गर्न थालेका थिए । यद्यपि, पाकिस्तान सरकार क्वेटामा तालिबानको उपस्थितिमाथि सधैं अस्वीकार गर्दै आयो ।

असुरक्षा र हिंसाको माहौलः

भारी संख्यामा विदेशी सैनिकको उपस्थितिपछि तालिबानले बिस्तारै बिस्तारै आफूलाई बलियो बनायो र अफगानिस्तानमा आफ्नो प्रभावलाई बढायो । यसको नतिजा देशमा असुरक्षा र हिंसाको त्यस्तो माहौल पुनः देखिन थाल्यो जुन सन् २००१ पछि कहिल्यै देखिएको थिएन ।

सेप्टेम्बर सन् २०१२ मा तालिबान लडाकूले काबुलमा थुप्रै हमला गर्यो र नेटाको क्याम्पमा पनि हमला गरे । सन् २०१३ मा शान्तिको आशा त्यतिबेला जाग्यो जब तालिबानले कतारमा कार्यालय खोल्ने घोषणा गर्यो । यद्यपि, त्यतिबेला तालिबान र अमेरिकी सेनाको एक अर्कामाथि विश्वास कमजोर थियो जसका कारण हिंसा थामिएन ।

अगस्ट सन् २०१५ मा तालिबानले संगठनले मुल्ला उमरको मृत्युको दुई वर्षभन्दा बढी समयसम्म यसबारे जानकारी नदिएको स्वीकार गरेको थियो । मुल्ला उमेरको मृत्यु कथित स्वास्स्थ्य समस्याका कारण पाकिस्तानको एक अस्पतालमा भएको थियो ।

यसै महिना समूहले मुल्ला मंसूरलाई आफ्नो नयाँ नेता चुनेको घोषणा गर्यो ।

अमेरिका र तालिबानबीच सम्झौताः

यतिबेला तालिबानले सन् २००१ को हारपछि पहिलो पटक कुनै प्रान्तको राजधानी पुनः आफ्नो नियन्त्रण हासिल गरेको थियो । राणनीतिक रुपमा अत्यधिक महत्वपूर्ण शहर कुंडूजमा उनीहरुले नियन्त्रण स्थापित गरे ।

मुल्ला मंसुरको हत्या अमेरिकी ड्रोन हमलामा मे, सन् २०१६ मा भयो र त्यसपछि संगठनको कमान उनका डिप्युटी रहेका मौलवी हिब्तुल्लाह अखुंजादालाई सुम्पिइयो । अहिले उनकै हातमा तालिबानको नेतृत्व छ ।

फेब्रुअरी सन् २०२० मा अमेरिका र तालिबानबीच शान्ति सम्झौता भयो । थुप्रै चरणको कुराकानीपछि यो सम्झौता भएको थियो ।

त्यसपछि तालिबानले शहर र अन्य सैन्य इलाकामा हमला पछि केही विशेष प्रकारका मानिसहरुलाई निशाना बनाउन सुरु गरे र यस्तो हमलाबाट उसले अफगानिस्तानका जनतालाई आतंकित बनाए ।

अफगानिस्तान सरकारलाई तालिबानको खतराः

यी हमलामा तालिबानले पत्रकार, न्यायाधीस, शान्ति कार्यकर्ता र प्रतिष्ठित पदमा बसेका महिलालाई निशाना बनाए । तालिबानले आफ्नो रणनीति फेरेको थियो, कट्टरपन्थी विचारधारा होइन ।

अफगानिस्तानका अधिकारीले अन्तर्राष्ट्रिय मद्दत बिना अफगानिस्तान सरकारको अगाडि अस्तित्व बचाउने संकट हुने भन्दै गम्भीर चिन्ता जताएको थियो तर अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले अप्रिल सन् २०२१ मा ११ सेप्टेम्बरसम्म सबै अमेरिकी सैनिक फिर्ता हुनेछन् भनेर घोषणा गरिदिए ।

दुई दशकसम्म चलेको एक युद्धमा अमेरिकी महाशक्ति झुक्याएपछि तालिबनले ठूला क्षेत्रमाथि आफ्नो कब्जा जमाउन सुरु गर्यो ।

सन् २००१ पछि पहिला पटक तालिबान यति बलियो देखिएको छ । नेटोको आँकलन अनुसार सबै समूहका पूर्णकालीन लडाकूको संख्या ८५ हजार आसपास छ ।

तालिबानको कति इलाकामा कब्जा छ भनेर स्पष्ट रुपमा अहिल्यै भन्न सकिन्नँ तर देशको पाँचौं हिस्सादेखि एक तिहाई हिस्साबीचको क्षेत्रमा तालिबानको नियन्त्रण भएको अनुमान छ ।

तालिबान जति तीब्र गतिमा अघि बढिरहेको छ, यसले मानिसहरुको चिन्ता बढाएको छ । अफगानिस्तानमा अमेरिकी नेतृत्व भएको मिशनका कमान्डर जनरल अस्टिन मिलरले जूनमा नै देश गृहयुद्धतर्फ अघि बढ्न सक्ने चेतावनी दिएका थिए ।

जून महिनामा नै अमेरिकी गुप्तचर एजेन्सीले पनि अफगानिस्तानको स्थितिबारे आँकलन गरेका थिए । यसमा अमेरिकी सैनिक फिर्ता भएको ६ महिना भित्र अफगानिस्तानको सरकार ढल्ने अनुमान व्यक्त गरिएको बताइँदै छ ।

बीबीसी