ग्वार्डिओलासहितका प्रशिक्षकहरु खेलाडीलाई खोप लगाउन प्रेरित गर्दै

  • सञ्चार लाइभ प्रकाशित : August 22, 2021
  • SancharLive

इङ्लिस प्रिमियर लिगमा सङ्क्रमित हुने खेलाडीको सङ्ख्या बढिरहेको छ । यस्तोमा म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलासहित विभिन्न क्लबका प्रशिक्षकहरूले खेलाडीलाई खोप लगाउनुपर्ने तर्क गरिरहेका छन् । आर्सनलका मिकेल अर्टेटा, टोट्टेनह्यामका नुनो इस्पिरितो सान्तो, न्युक्यासल युनाइडेका स्टिम ब्रुस तथा ब्राइटन एन्ड होभ अल्बियोनका ग्राहम पोटरले पनि यस्तै माग गरेका छन् ।

तर खेलाडीहरूलाई खोपबारे विश्वस्त गर्ने सही व्यक्ति आफू नरहेको उनले बताए । ‘मलाई लाग्छ डाक्टर, मेडिकल विभागले यस्तो गर्न सक्छन् । जसकारण खेलाडीहरूले आफ्नो, परिवारको र बाँकी समाजको रक्षाका लागि खोप लगाउने हो भनेर बुझुन् । तर, कसैले उनीहरूलाई बाध्य बनाउन पनि सक्दैन,’ ग्वार्डिओलाले भने । अप्रिल २०२० मा ग्वार्डिओलाकी आमाको कोरोना भाइरसकै कारण निधन भएको थियो ।

शुक्रबार प्रिमियर लिगअन्तर्गत सुरुवाती खेलमा आर्सनललाई ब्रेन्डफोर्डले २–० ले हरायो । यस खेलमा आर्सनलका  पिर्रे एम्रिक अउवामियाङ, अलेक्ज्यान्द्रे लाकाजेट्ट र रुचनर एलेक्स रुनास्र्सन कोभिड १९ को सङ्क्रमणका कारण सहभागी हुन पाएनन् । यता, विलियम पनि सङ्क्रमणबाट निको हुने क्रममै छन् । आफ्ना धेरै खेलाडीहरूले कोभिड १९ विरुद्धको दुई डोज खोप लगाइसकेको र बाँकी खेलाडीलाई पनि खोपका लागि प्रेरित गर्न आफू सक्रिय रहेको उनले बताए । ‘हामीले उनीहरूलाई खोप लगाउन र आफू तथा आफ्नो परिवारलाई सुरक्षित राख्न प्रेरित गर्दैछौ । यो खासमा व्यक्तिगत विषय हो, हामी खोप किन लगाउनुपर्छ भनेर बुझाउन खोज्दैछौ । , तर अन्त्यमा यो व्यक्तिगत विषय नै हो ।’

टोट्टेनह्यामका प्रशिक्षक नुनोले भने,‘म हरेकको व्यक्तिगत निर्णयलाई सम्मान गर्छु । तर म खोपको पक्षमा छु र आफ्ना सबै खेलाडीलाई खोप लगाउन प्रेरित गर्छु ।’

उनले थपे,‘यसको अर्थ तपाई खोप लगाएपछि भाइरसबाट स्वतन्त्र हुनुहुनेछ भन्ने होइन, तर यसले तपाईँलाई सुरक्षा दिन्छ । त्यसैले म खोपको पक्षमा छु ।’

न्युक्यासलका प्रशिक्षक ब्रुको अभिव्यक्ति पनि यस्तै छ । तर खोप लगाउने वा नलगाउने भन्ने अधिकार खेलाडीमै रहेको उनले बताए । गत जुलाईमा कोरोनाबाट सङ्क्रमित भएपछि न्युक्यासलका गोलकिपर कार्ल डर्लोले केही समय अस्पताल बिताउनु परेको थियो । ‘हाम्रा दुई वा तीन खेलाडीहरु साँच्चै बिरामी थिए । अस्पतालमा रहँदाको २४ देखि ४८ घण्टासम्म कार्लमा कुनै लक्ष्य देखिएको थिएन । मेरो सल्लाह खोप लगाउनुपर्छ भन्ने हो ।’

बिहीबार ब्राइटनका प्रशिक्षक पोटरले आफ्नो परिवारका एक सदस्यको निधन कोरोनाले भएको बताएका थिए । उनका अनुसार ती सदस्यले खोप लगाएका थिएनन् । ‘मैले परिवारको सदस्यलाई पहिलोपटक यस्तो अवस्थामा भेटेँ, उनले खोप लगाएका थिएनन् र रोगका कारण ज्यान गुमाए । म खोप लगाउनका लागि सल्लाह दिन्छु, किनकि कोही त्यस्तो नहोस् भन्ने मलाई लाग्छ ।’