कोरोना जोखिमबीच छ महिनापछि सताक्षीधामको वाटरपार्क सञ्चालनमा

  • सञ्चार लाइभ प्रकाशित : September 13, 2021
  • SancharLive

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको बेला सार्वजनिकस्थल तथा पर्यटकीय क्षेत्रमा मानिसहरूको भिड लाग्न थालेको छ।

लकडाउन खुकुलो हुँदै गएपछि जोखिमका बीचमा पनि मानिसले पर्यटकीय क्षेत्रमा रमाइलो गर्न थालेका छन्।

झापाको शिवसताक्षी नगरपालिका ८ झिलझिलेको वाटरपार्क छ महिनापछि सञ्चालनमा आएको छ। यो पार्क एक वर्षयता सञ्चालनमा आए पनि कोरोना संक्रमणका कारण समस्यामा परेको थियो।

कोरानाको पहिलो लहरमा सरकारले गरेको लकडाउनका कारण पार्क सञ्चालनमा आउन सकेको थिएन।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पार्कभित्र प्रवेश दिन थालिएको सञ्चालक राजकुमार संग्रौलाले बताए।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेपछि आन्तरिक पर्यटकहरूको लागि भ्रमण गर्ने प्रमुख थलो पार्क बनेको छ।

‘लकडाउनले गर्दा घुमफिर गर्न पाइएको थिएन। नजिकै पार्क बनेपछि घुम्न आइयो,’ मोरङ कानेपोखरीका यामप्रसाद पौडेलले भने, ‘राम्रो लाग्यो ठाउँ।’

पार्क सञ्चालन हुन थालेपछि जिल्लाभित्र र बाहिरबाट पर्यटकहरू रमाइलो गर्न आउन थालेको सञ्चालक संग्रौलाले बताए।

‘कोरोना भाइरसले लकडाउन भएका कारण धेरै समय मानिस घरभित्रै बस्नुपरेको थियो। ठाउँ-ठाउँमा बनेका यस्ता नयाँ भ्रमण योग्य स्थलमा मानिसहरूको भिड लाग्ने गरेको छ,’ संग्रौलाले भने।

झिलझिलेको वाटर किङ्डम पार्कमा घुमफिर गरेर टिकटकका लागि भिडियो बनाउने, फेसबुक स्टोरीका लागि भिडियो र फोटो खिच्नेको संख्या दिनहुँ बढेको संचालकले बताएका छन्।

‘मानिसहरूको भिडभाड बढ्दै छ। कोरोनाको जोखिम कायमै रहेकाले सतर्क रहदै पार्क सञ्चालन गर्न लगानीका हिसाबले आवश्यक छ,’ उनले भने।

पार्कमा सञ्चालकले ४० करोडको संरचना निर्माण गरेका छन्। सामाजिक सञ्जाल टिकटकको लागि भिडियो र फेसबुकको लागि सेल्फी लिने ठाउँ निर्माण भएकोले पार्कले दर्शक बटुल्न सफल भएको छ।

पार्कमा आउने हरेक पर्यटकको रोजाई पानीको फोहोरा, विभिन्न भाषा धर्मका डमीसँग र पार्क छेउको फूलबारीमा तस्बिर खिच्ने हुन्छ। यो सँगै उक्त पार्कमा जिपलाइन, सुपरम्यान जिपलाइन र जिप साइकिलिङले पनि पर्यटकको मन लोभ्याउन सफल भएको पार्कका कार्यकारी व्यवस्थापक सौजन संग्रौलाले बताए।

पार्कमा पानीमा मात्र खेलेर मनोरञ्जन लिनसकिने ८ प्रकारका खेल पनि छन्। सं

ग्रौलाका अनुसार स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड छन्।

कोरोना भाइरसका कारण हुने जोखिमलाई लिएर पार्क क्षेत्रमा घुमफिरको लागि सरकारले रोकेको भए पनि घुम्न आउनेको संख्या बढेकोले पार्क खुकुलो बनाइएको हो।

‘कोरोनाको जोखिमले गर्दा पार्क प्रवेशमा रोक लगाएका थियौँ। तर, मानिसको घुँइचो लागेपछि रोक्न सकिएन,’ संग्रौलाले भने, ‘मास्क लगाएर मात्रै पार्क क्षेत्रमा आउन अपिल गरेका छौँ।’

पार्कले भिजिटरका लागि १ सय ५० रुपैयाँ शुल्क निर्धारण गरेको छ। यस्तै ‘रोपवेज’ बाहेकको वाटर आइटमका लागि ५ सय शुल्क तय गरेको छ।

यता सुपरम्यान जिपलाइन र भिजिटरका लागि ७ सय शुल्य निर्धारण गरिएको छ।

यस्तै, जिप साइक्लिङ र भिजिटरका लागि प्रतिव्यक्ति ७ सय रुपैयाँ शुल्क निर्धारण गरिएको पार्क कार्यकारी व्यवस्थापक  संग्रौलाले बताए।

पार्कमा आउने भिजिटरका लागि सञ्चालकले रोपवेजको फुल प्याकेजमा ५० प्रतिशत छुट दिने भएको छ।विनोद सापकोटा set0pati