जिरी सभ्यता (लिखु र जिरी उपत्यका)

(पुराना कम्युनिष्ट नेता देवशंकर पौडेल रामेछाप निवासी हुनुहुन्छ। सामाजिक संजालमा आएका उहाँका बिचार सहितका रचना खास लाग्छन। उहाँका छानिएका केहि रचना क्रमश-प्रस्तुत गर्ने जमर्को गरेका छौं।)

  • सञ्चार लाइभ प्रकाशित : September 22, 2021
  • देवशङ्कर पाैडेल
आज भन्दा सयौं बर्ष पहिलेको कुरा हो । त्यसवेला लिखु खोला उपत्यकामा सुनुवारहरूको बसोवास थियो । जो आजसम्म छ । त्यस वेला आजको जस्तो दिगो घर बनाएर स्थायी रुपमा बसोवास गर्ने चलन थिएन । भस्मे फाँड्यो आगो सल्कायो । त्यहाँ बाली लगायो । अर्को बर्ष त्यो ठाउँ छाड्यो नयाँ ठाउँमा सर्यो । त्यसै गरि भस्मे फाँड्यो अन्न छर्यो । बाली उठायो, फेरी अर्को ठाउँमा सर्यो, यस्तै थियो जनजीवन ! भस्मे फाँडेर थुप्र्याएको उरुङमा आगो सल्काउने क्रममा आगो दन्कियो । त्यसैगरी भस्मे फाँडेर बस्ने अर्को परिवारकी बूढी आमै भ्यासको उरुङमा घामको तातोमा बस्तै गरेकी रहिछन् । सल्किदै आएको आगाको ज्वालाले भेटेर जलिछन् । जसले आगो सल्काएको हो, उसलाई बुढी आमै बसेको थाहा भएन छ ! बेलुका बजै खोज्न जाँदा त जलेर खरानी भइछिन् ।
यस घटनाले उनिहरूको भस्मे फाँडेर खेतिपाति गर्ने अभियान त्यहिँ रोकियो । परिवन्धले गाउँ छाड्नु पर्ने बाध्यता आइपर्यो । त्यसवेला आजको जस्तो देशै छाडेर मुग्लान पस्ने चलन थिएन । यतै अनकण्टार तिर लुक्नु पर्थ्यो । उनिहरूले बूढी आमै पोलिएको ठाउँबाट खेति गर्न ठिक्क पारेको भस्मे र आफ्ना परिवार छाडेर हिंडे । जाँदा जाँदा तामेको जङ्गल तिर पुगे । त्यताबाट जिरी, च्योर्दुङ्ग आसपास सेर्पाका चौरी गोठतिर हानिए । डिलपरी मार्बु गाउँतिर पनि पुगे । ती दुइभाई जे पायो त्यहि खाने, जस्का घर गोठमा आश्रय पायो, त्यहिं बस्ने अवस्थामा पुगे । उनिहरूको जीवन कष्टकर बन्यो ।
आगो मानव जीवनको लागि अभिन्न अंग बनिसकेको थियो । आगो पार्नका निम्ती त्यसबेला आजको जस्तो लाइटर, सलाई इत्यादिको विकास भएको थिएन । लेकाली एक किसिमको च्याउको झुरिएर सुकेको टुक्रा झुलोको रुपमा प्रयोग गरिन्थ्यो । कडा प्रकृतिको दर्शन ढुङ्गाको आडमा झुलो राखेर फलामे चकमकले बेसरी रगेट्दा झिल्का निस्किन्थ्यो र आगो पथ्र्यो । त्यहि आगोमा सुकेका दाउरा मुडा जोरजाम गरेर पहराका ओडार आड लिएर आगो तापेर बर्षा, शीत, तुसारो, हिउँ, असिनाआदिबाट सुरक्षित भएर बस्नुपर्ने अवस्था आयो । उनिहरुका खुकुरीका दापमा कर्द, चकमक र झुलो च्याप्ने सानो बासा वा च्याप समेटेर बनाइएको हुन्थ्यो । झुलो त्यहिँ राखिन्थ्यो । ती दुई भाई मार्बु, सुरी, झ्याकु, सिमी, मन्थलीआदि गाउँतिर त्यसै गरि भस्मे फाँडेर कागुनु, कोदो, मकैआदि खाद्यान्नको जोहो गरेर कष्टकर जीवन गुजार्न थाले ।
एकदिन कसैले दिएका भुटेका मकै भटमास जङ्गलमा बसेर खाँदै थिए । मकैमा एउटा काँचो सिमीको दानो फेला पर्यो । टिपेर त्यहिं फाले । अनुकुल मौसम आएपछि सिमी उम्रियो, लहरायो, झाँगियो, लटरम्म फल्यो । त्यहिं विउ पाक्यो । बर्षेनी त्यहिं झर्यो, त्यहिं उम्रियो । त्यस खोरियाको ठूलो क्षेत्रफलमा सिमी नै सिमी फैलियो । पछि त्यहाँ मानिसको बसोबास भयो । त्यो सम्पूर्ण ठाउँलाई नै सिमी गाउँ भन्न थालियो ।
त्यतै च्योर्दुङतिरको यात्रामा हिमाली गोठका कन्याहरू संग शारीरिक सम्पर्क भएछ । ती फिरङ्गा कहाँ पुगे कहाँ थाहा भएन ! हुन त गोठ डुलाउने हिमाली परिवार पनि खर्क सारीसारी हिंड्थ्यो । उ पनि एक प्रकारको फिरङ्गा नै थियो । ती कन्याबाट सन्तान जन्मिए । उनिहरूबाट जन्मिएका सन्तान न सेर्पा, न सुनुवार भए । सेर्पा परिवारमा हुर्किए । च्योर्दुङको रमणीय उपत्यका जिरी तिर उत्पति भएकाले उनिहरूलाई “जिरेल” भनियो । आज जिरी र जिरेल पर्यायवाची जस्तै भएको छ । भनिन्छ, जिरेलको संस्कृति र संस्कार पक्ष सेर्पासंग अनि जात-थर पक्ष सुनुवारसंग मिल्दाजुल्दा हुन्छन् !
अर्को कथन अनुसार जिरेल किरात जातीको एउटा प्रमुख हाँगो हो । पाँच भाई मध्ये राई लिम्बु, सुनुवार हायु जस्तै एक भाइको सन्तान जिरेल हुन् । उनिहरुको संस्कार हिन्दु र बौद्ध दुवैसंग मिल्दोजुल्दो छ । लामा र पुरेत दुवै लगाउँछन् । यसरी जिरेल जातिको विशिष्ठ प्रकारको मौलिक संस्कार छ । जिरीको सभ्यतामा जिरेल जातिको महत्वपूर्ण भूमिका छ । मानव समाजको समकालीन दुनियाँमा जिरेल निकै सभ्य छ । शैक्षिक चेतना अग्रस्थानमा छ । दोलखाको जिरी उपत्यकामा पढेलेखेका जिरेल जातीको बसोबास छ ।
माथी कथाको सिलसिलाका फिरङ्गीहरु भीर ओडारको कष्टकर जीवन ब्यतित गरिरहेका थिए । ती साहसी र बलवान सुनुवार दाजुभाई रितिरिवाज, भाषा, धर्म, संस्कृति र आफ्नो जनजीवनको खोजी गर्न थाले । खोज्दै खोज्दै कालान्तरमा खिम्ती खोलो तरेर सुनुवारका बस्तीतर्फ फर्किए । सुनुवार कन्यासंग विवाह गरेर त्यतै खिम्ती खोला पूर्व घरजम गरे ।
यस प्रशङ्गले खिम्तीखोला, लिखुखोला र मार्बुखोलाको परापूर्व कालदेखि आफ्नै खालको साँस्कृतिक सम्वन्ध कायम भएको देखिन्छ । श्रुति-स्मृति भएपनि यो घटना अन्दाजी पाँचसय बर्षभन्दा पुरानो अनुमान गरिएको छ ।
(२०७८ भदौ ९)
(पुराना कम्युनिष्ट नेता देवशंकर पौडेल रामेछाप निवासी हुनुहुन्छ। सामाजिक संजालमा आएका उहाँका बिचार सहितका रचना खास लाग्छन। हामीले छानिएका केहि रचना क्रमश-प्रस्तुत गर्ने जमर्को गरेका छौं।)