आफ्नै मान्छे हुन्

  • सञ्चार लाइभ प्रकाशित : October 2, 2021
  • रमला पौडेल
सधैं लुछाचुँडी गर्ने आफ्नै मान्छे हुन्
बिना काममा दागा धर्ने आफ्नै मान्छे हुन्
डराउनु पर्ने हुन्छ भित्रै पस्नेसँग
बाटो हिड्दा आँखा तर्ने आफ्नै मान्छे हुन्
पाइलो अघि सार्नै हुन्न तान्नै ठिक्क हुने
सुल्सुले भई हावा भर्ने आफ्नै मान्छे हुन्
खिस्स हाँसी मिठ्ठो बोल्छ को हो को हो पराई
आलो घाउमा नुनचुक छर्ने आफ्नै मान्छे हुन्
नयाँ चप्पल फेर्दा पनि खिजिनिती गर्दै
आहारिसले जिउँदै मर्ने आफ्नै मान्छे हुन्
के गर्नु र मर्दा पर्दा खुर्र आई पुग्छन्
भो नभनौँ अघि सर्ने आफ्नै मान्छे हुन्
-रमला पौडेल-लिखु -९ पोकली-ओखलढुङ्गा