फुट्ने हैन जुट्नु पर्छ

  • सञ्चार लाइभ प्रकाशित : October 2, 2021
  • वासु गौतम
खोज्दै सार्थक जिन्दगी प्रगतिका जोड्यो अनेकौं कडी
टेक्यो मंगल चन्द्र बुद्धि बलले थाकेन मान्छे कति !
जोड्यो भौतिक वस्तु लाखथरिका ऐयासका बेसरी
लेख्यो वेदसँगै विशिष्ट रसिला ठेली हजारौं थरि !! १ !!
सारा विश्व तमाम सृष्टि रचना एक्लै कजाएपछि
आशातीत अनेक प्राप्ति सुखका उन्माद चर्क्यो अनि
मान्छेमा अति तुच्छ स्वार्थ चुलियो लाग्यो नशा दम्भको
उर्ल्यो आपसमा विभेद गहिरो बन्धुत्व फिक्का भयो !! २ !!
बाझ्दा स्वार्थ निकृष्ट युद्ध रचिए मान्छे करोडौं मरे
मौलायो अझ तिक्तता मनुजमा खस्क्यो दया प्रेम हे! !
भाषा संस्कृति धर्म जात अथवा भूगोलको नाममा
हुर्क्यो मानिसमा विखण्डनसँगै गम्भीर दुर्भावना !! ३ !!
आआफ्नो समुदाय वर्ग हितको आडम्बरी सोचमा
ज्यादै घातक वैरभाव चुलिदो देखिन्छ संसारमा !
काटाकाट हुदैछ भाइबिच नै आत्मीयता रुग्ण छ
बढ्दो वैभव होड शान्ति पथको बन्दैछ त्यो बाधक !! ४ !!
छैनन् मानिस ढुक्क निर्भय कतै सन्तुष्ट आनन्दित
बाँच्दैछन् अति नै भयातुर हुँदै आक्रान्त आन्दोलित !
फुट्दा रङ्ग र जात वर्ग तहमा बढ्दै गयो त्रासदी
सग्लो छैन जिजीविषा कहरका आँधी हुरीमा परी !! ५ !!
मान्छे आपसमा विभक्त बनिदा के हुन्छ भोग्यौँ सबै
निम्त्यायो कटुता विखण्डित हुँदा आफैं पराई कठै! !
मान्छेको अति स्वार्थ घातक भयो संवृद्धिका खातिर
धब्बा लैङ्गिक भेद रङ्ग अझ त्यो जातीयता भो खिल !! ६ !!
मान्छेमा समभावको जतनले सक्दो जगेर्ना गरे
जाग्दो हो समता हरेक मनमा दुर्भाव मेट्दै गए !
छाडी तुच्छ विभेद मानव सबै सौहार्दतामा जुटौँ
मौलाओस् सह नौ भुनक्तु मनमा विश्वास बोकी उठौँ !! ७ !!
 वासु गौतम
लिखु-९- पोकली, ओखलढुंगा