सिंहानुक बन्ने पूर्व राजा ज्ञानेन्द्रको प्रस्ताव अस्वीकार गर्दै प्रचण्डले भनेका थिए- ‘इट इज टु लेट’

  • सञ्चार लाइभ प्रकाशित : 12/18/2021
  • SancharLive

नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको पछिल्लो एक अभिव्यक्तिले नेपाली राजनीतिमा तरंग सृजना गरेको छ । अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गंभिर आरोप लगाउँदै तत्कालिन राजा ज्ञानेन्द्रसँग ५ बुंदे सहमति गरेको दावी गरेका थिए ।  गत बुधबार आफ्नो पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले भनेका थिए, ‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो,’ ओलीको भनाइ थियो, ‘के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुपर्‍यो नि ।’ १९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेको विषय प्रचण्डको सहमतिमा भएको ओलीको आरोप थियो । ओलीले त्यही सहमतिपछि ज्ञानेन्द्रले माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको दावी गरेका हुन् । तर अध्यक्ष प्रचण्डले ओलीको यो आरोपको खण्डन गर्दै तुरुन्तै विज्ञप्ती नै जारी गरे । प्रचण्डले भनेका छन्, ‘पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म, के.पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’ अध्यक्ष प्रचण्डले यो विषय अहिले मात्रै खण्डन गरेका होईनन् । यसभन्दा अघि धेरै पटकका राजनीतिक कार्यक्रमहरुमा ज्ञानेन्द्रको प्रस्ताव र तत्कालिन माओवादीको जवाफका बारेमा बोलेका छन् ।  अध्यक्ष प्रचण्डले ज्ञानेन्द्रका तर्फबार्ट सिंहानुक बन्न आएको प्रस्तावलाई ‘इट इज टु लेट’ भन्ने जवाफ फर्काएको विभिन्न राजनीतिक कार्यक्रम तथा प्रशिक्षणहरुमा पटक पटक बताउने गरेका छन् ।  ओली आरोपको प्रचण्डले गरे खण्डनः ज्ञानेन्द्रसँग सहमति भएको प्रमाणित गर्न नत्र माफी माग्न चुनौती तत्कालिन राजा ज्ञानेन्द्रसँग विभिन्न सम्पर्क सुत्रहरुमार्फत सम्बाद भएको, प्रस्ताव अाएकाे तर कुनै सहमति नभएको उनको भनाई छ । राजा ज्ञानेन्द्रको कु का विरुद्ध जनयुद्ध र जनआन्दोलन उत्कर्षमा पुगेका बेला राजा ज्ञानेन्द्रले आफू सम्मानित भएर कम्बोडियाका राजा सिंहानुक जस्तै संवैधानिक दायरा भित्र बस्ने र देशको नेतृत्व राजनीतिक दललाई दिने प्रस्ताव गरेका थिए । तर सो प्रस्ताव धेरै ढिला आएको र अव त्यसको कुनै संभावना नरहेको, आन्दोलन धेरै अघि बढिसकेको प्रचण्डले बताएका थिए । आन्दोलन सुरु हुनु अघि राजाको निरंकुश शासनका विकल्पमा भने छलफल गर्न सकिने प्रस्ताव तत्कालिन माओवादीको थियो । सुरुमा माओवादीसँग सम्बाद गर्न नचाहेका ज्ञानेन्द्रले आन्दोलनको उभारले राजतन्त्र ढल्ने संभावना देखेपछि मिल्ने प्रस्ताव पठाएका थिए । जुन प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेको माओवादी केन्द्रका एक नेता बताउँछन् ।  विकिलिक्सले तत्कालिन अवस्थाको विषयमा सूचना चुहाएको छ । जसमा तत्कालिन माओवादीका उपत्यका इन्चार्ज तथा पछि एमाले बनेका नेता राविन्द्र श्रेष्ठको हवाला दिइएको छ । श्रेष्ठले नै त्यतिबेला राजा ज्ञानेन्द्रका प्रतिनिधिहरुसँग सम्बाद गरेका थिए ।  विकिलिक्सको रिपोर्टले समेत ज्ञानेन्द्र कम्बोडियाका सिहानुक जस्तै बन्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने प्रस्ताव गरिएको तर सो विषयमा सहमति हुनु अघि नै सन् २००५ फेबु्रअरी १  अर्थात २०६१ साल माघ १९ गते ज्ञानेन्द्रले ‘कु’ गरेको उल्लेख गरेको छ । यही रिपोर्टलाई आधार मान्ने हो भने पनि प्रचण्ड र ज्ञानेन्द्रबीच ५ बुंदे सहमति भयो भन्ने कुराको खण्डन हुन्छ । samachardainik