खेलकुद क्षेत्रमा तरंगः सिलवाललाई काममा फर्काउन सर्वोच्चको आदेश

  • सञ्चार लाइभ प्रकाशित : 12/18/2021
  • SancharLive

सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्काउन आदेश दिएको छ ।  न्यायाधीश हरि फुयालको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

उनलाई कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गरेको थियो । पदमा रहंदा मर्यादा अनुसार काम नगरेको, कार्यक्षमतामाथि प्रश्न उठेको लगायतका विषयलाई आधार मानेर सरकारले सिलवाललाई पटक पटक स्पष्टिकरण सोधेर अन्तिममा बर्खास्त गरेको थियो । त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

राखेपमा प्रतिस्पर्धाको माध्यमबाट नयाँ सदस्य सचिव नियुक्त भइसकेको अवस्थामा आएको अदालतको आदेशले सरकारी निर्णय संकटमा परेको छ ।  सरकारले सिलवाललाई बर्खास्त गरेर  टंकलाल घिसिङलाई मंसिर १३ गते सदस्य सचिव नियुक्त गरेको थियो ।  केपी ओलीको नेतृत्वमा रहेको सरकारले सिलवाललाई गत वर्ष साउनमा सदस्य सचिव नियुक्त गरेको थियो ।

ओली नेतृत्वको सरकारमा नियुक्त भएका ९ सदस्यलाई पनि गहतराजले पद मुक्त गरि ८ जना नयाँ सदस्य नियुक्त गरेका थिए । त्यो निर्णय विरुद्ध पनि तत्कालिन ५ जना सदस्य सर्वोच्च गएका थिए । २०७१ सालमा तत्कालिन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले तत्कालिन सदस्य सचिव युवराज लामालाई पदमुक्त गर्दा पनि सर्वोच्चले पूर्नबहाली गरेको थियो ।